२६ फाल्गुन २०७२, बुधबार

जाजरकोट, यहाँका पाँच हजारभन्दा बढी घरधुरी नदीको पानी खान बाध्य छन् । खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले दिएको जानकारीअनुसार नदीको पानी पिउनेको सङ्ख्या पाँच हजार २९२ घरधुरी रहेको छ ।

water-supply-jajarkot

त्यस्तै, मुहाननजिकै नाउलोमा पानी खानेको सङ्ख्या एक हजार ५८० रहेको छ भने आकाशे पानी खाने परिवारको सङ्ख्या १५ छ । ढुङ्गेधाराका पानी पिउने ४९ परिवार छन् । दुई हजार ८४४ परिवारले मात्र घरमै खानेपानी खाने गरेका छन् भने बाँकी २४ हजार ३११ परिवारले बाहिरबाट आधा घन्टादेखि एक घन्टासम्म पानी बोकेर खाने गरेको खोनेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख महेशी महतोले जानकारी दिनुभयो । जटिल भूभाग, पातलो बस्तीका कारण खानेपानी पु¥याउन समस्या भएको छ ।

पानीका कारण जिल्लावासी रोगबाट सङ्क्रमित 
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार फोहर पानीका कारण जिल्लाका अधिकांश स्थानीयवासी बिरामी हुने गरेका छन् । खासगरी लुतो, निमोनिया, मस्तिष्कज्वरो, पखाला, छालामा लाग्ने रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, पिसाबको सङ्क्रमण, भाइरल फ्लु र दमबाट यहाँका जनता सङक्रमित हुने गरेका छन् ।

पानीको गुणस्तर जाँच नहुनु 
खानेपानीको योजना सञ्चालन गर्दा र आयोजना निर्माणपछि पानीको गुणस्तरको नियमित जाँच नहुँदा समस्या आएको हो । पानीको गुणस्तर जाँच गर्ने सरोकारवाला निकायबीच समन्वय हुन सकिरहेको छैन ।

खानेपानीको गुणस्तर परीक्षण गर्न आवश्यक पर्ने कडापन, पिएच, कोलिफार्मटर विटिडी र कलर नहँुदा यस्तो समस्या आएको छ । खानेपानी शुद्ध गर्ने सचेतना तालिम र गोष्ठी नभएका कारण पनि उपभोक्ता सचेत बनाउन नसकिएको हो ।

खानेपानी तथा सरसफाइमा यस्ता छन् चुनौती 
जिल्लालाई खुल्ला दिसामुक्त गर्न छिटो गरी निर्माण भएका शौचालय पानीको अभावमा प्रयोगविहीन बन्न पुगेको स्थानीयवासीले बताएका छन् । पानीको पहुँच भएको स्थानका जनसाधारणलाई शौचालय प्रयोग अहिले पनि बाध्यात्मक बन्नु सबैभन्दा जटिल समस्या बनेको छ ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका ठाउँमा स्थानीयवासीको बानी–व्यवहार परिवर्तन गर्नु निकै चुनौतीपूर्ण बनेको सरोकारवाला निकायको बुझाइ रहेको छ । खुल्ला दिसा गर्दा सामाजिक रुपमा हुने हानिको विषयमा सचेत गराई आवश्यक सजायको व्यवस्था नहुँदा यो समस्या बल्झिएको छ । खानेपानीको आयोजना निर्माण गर्दा देखिएका जैविक सङ्क्रमणलाई अर्थात् फोहर वस्तुलाई पानीमा मिसिन नदिन आवश्यक योजना निर्माण नगरी योजना सम्पन्न गर्दा थप जटिलता आएको छ ।

पानीका मुहान संरक्षणतर्फ ध्यान नदिँदा बर्सेनि पानीको स्रोत घट्दै जाँदा पनि समस्या भएको हो । जनसङ्ख्या वृद्धि हुने तर पानी स्रोत संरक्षणमा ध्यान नजाँदा खानेपानीको समस्या चुलिँदै गएको हो । विद्यालय र सार्वजनिक स्थानमा शौचालय बने पनि पानीको अभावमा अलपत्र हुने गरेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV