२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ, नेपाली कांग्रेसको नवौं सभापतिको रुपमा शेरबहादुर देउवा निर्वाचित भएसंगै कांग्रेसभित्रको राजनीतिमा मात्र होईन मुलुकको सत्ता समिकरणमा पार्ने प्रभावका वारेमा पनि बहस सुरु भएको छ । एकातर्फ सत्तारुढ घटकहरुवाटै राष्ट्रिय सरकारको वारेमा केही दिनयता जोडतोडका साथ कुराहरु वाहिर आउनु अर्कोतर्फ अन्तराष्ट्रियस्तरवाटै रुचाईएका देउवा कांग्रेसको नेतृत्वमा आउनुले सरकार परिवर्तनको बहसलाई थप आधार दिएको छ ।

Sherbhadur-Deuba-6

करिव १९ वर्षपछि मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्व कोईराला परिवार वाहिर आएको छ । कांग्रेसभित्र धेरै हदसम्म भाग्यवादी नेताका रुपमा समेत चिनिएका नवनिर्वाचित कांग्रेस सभापति शेरवहादुर देउवा पार्टीको ७० बर्षे इतिहासमा नवौं सभापति बनेका छन् । पढे लेखेका, देश विदेश घुमेका र सत्ता राजनीतिको गतिलो अनुभव भएका भएपनि देउवालाई मुलुकको समृद्धिको लागि योगदान गर्ने नेताको रुपमा चिनिदैन् ।

२०४६ यता मुलुकमा विकास भएको प्रजातान्त्रिक अभ्यासमाझ कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्र कमजोर हुँदैजाँदा विवाद, वहस र प्रश्नहरु व्यापकरुपमा उत्पन्न हुन गए । जसको फलस्वरुप कांग्रेसभित्र देशी विदेशी तत्वहरुले मिहिनरुपमा खेल्ने अवसर पाएको राजनीतिका जानकारहरु बताउँछन् ।

देउवाको विजयले कांग्रेस र कोईरालाको जुन अभिन्न जस्तो साइनो थियो त्यस्को अन्त्य त गरेको छ । तर कोईराला प्रभुत्वमा जस्तो पार्टी संगठित गर्न सहज वातावरण देउवालाई छैन् । पार्टीभित्रका ठूलो असन्तुष्ट पक्तिमाझ पार्टी सञ्चालन गर्नु देउवाको लागि फलामको चिउरा सावित हुने निश्चित छ । अर्कातर्फ सत्ता राजनीतिको अंकगणितिय खेलका समेत माहिर मानिने देउवाले सत्ता राजनीतिलाई पार्टी हित विपरित प्रयोग नर्गलान भनेर ढुक्क हुने स्थितीसमेत नभएको धेरैको अनुमान छ ।

देउवा छिमेकी भारत र मुख्य गरी पश्चिमा विश्वले अत्याधिक रुचाईएका नेपाली नेता हुन् । पश्चिमा चलखेल र एजेन्डाहरुलाई कार्यान्वयन गर्न देउवा सहज पात्र हुने उनीहरुको ठम्याई छ । त्यस्तै गरी लामोसमय भारतीय सत्तामा रहेको कांग्रेस आईले निकै रुचाईएका पात्र देउवा नरेन्द्र मोदी नेतृत्वको सरकारसंग समेत सुमधुर सम्वन्ध रहेको बताईन्छ ।

सभापतिको रुपमा देउवाले आन्तरिक लोकतन्त्रमा निकै अस्तव्यस्त बनेको पार्टीमा लोकतन्त्र सुदृढ गर्ने, भातृ संगठनहरुमा देखिएका समस्या समाधान गर्ने, पार्टीका असन्तुष्ट पक्षलाई अधिकतम सहमतिमा ल्याउने र अपरिक्वताको दाग हटाउन सके देउवाको ठूलो उपलब्धि मानिनेछ ।

 

 

LIVE TV