
जिल्ला वन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र साहलाई कुटपिट गर्नेमध्येका एक एकीकृत माओवादीका नेता देव सागर दासलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार दिउँदो एकीकृत नेकपा माओवादीका सभासद् रामसिंह यादव र केन्द्रीय सदस्य रामचन्द्र मण्डल नेतृत्वमा एकीकृत माओवादी कार्यकर्ताले कार्यालय प्रमुख समेत रहेका जिल्ला वन अधिकृत साहलाई उनकै कार्यकक्षमा थुनेर कुटपीट गरेका थिए । उक्त घटनामा संलग्न रहेको भन्दै एकीकृत माओवादी धनुषाका सदस्य दासलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेता दासलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान अगाडि बढाईएको धनुषाका प्रहरी उपरिक्षक राम दत्त जोशीले बताउँनुभयो ।
जिल्ला वन कार्यालय प्रमुख माथिको आक्रमणको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही अगाडि बढाईएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले बताए ।
प्रहरी प्रशासनले नेता दासलाई पक्राउ गरेकोप्रति एकीकृत माओवादीका नेता तथा कार्यकर्ताहरुले भने जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रर्दशन गरेका छन् । उनीहरुले दासलाई विना सर्त नियन्त्रण मुक्त गर्नुपर्ने मांग गरेका छन् ।