२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ, नेपाल एसियाली मुलुकहरूको साझा मञ्च एसिया कोअपरेसन डाइलग (एसिडी) को सदस्य बन्ने प्रायः पक्का भएको छ ।

adc
बुधबार र बिहीबार थाइल्यान्डको राजधानी बैंककमा हुने एसिडीको १४ औँ मन्त्रिस्तरीय बैठकले नेपालको सदस्यता अनुमोदन गर्ने प्रायः निश्चित भएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए । “नेपाल एसिडीको ३३ औँ सदस्य हुने लगभग निश्चित भएको छ,” अधिकारीले भने ।

सहयोगका सबै क्षेत्रमा एसियाली मुलुकबीच परस्पर निर्भरता प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले १४ वर्षअघि एसिडी थाइल्यान्डमा स्थापना भएको हो । एसियाली मुलुकमा व्यापार तथा वित्त बजार विस्तार, विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता वृद्धि गर्दै एसिया महादेशलाई एसियाली समुदायमा रुपान्तरण गर्नु एसिडीको अर्को उद्देश्य हो । हाल उक्त क्षेत्रीय मञ्चमा एसियाका ३३ मुलुक सदस्य छन् ।

एसिडीका अध्यक्ष एवम् थाइल्यान्डका विदेशमन्त्री डन प्रामुड्युनेइको निमन्त्रणामा उपप्रधानमन्त्री कमल थापा उक्त बैठकमा भाग लिन मङ्गलबार बैंकक प्रस्थान गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री थापाले एसिडी अतिथि अध्यक्षका रुपमा बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच उपप्रधानमन्त्री थापा सोही दिन बैंककबाट नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ । आर्ट अफ लिभिङ इन्टरनेसनल सेन्टरले त्यहाँ आयोजना गर्ने विश्व सांस्कृतिक महोत्सवमा सम्मानित अतिथिका रुपमा उहाँले भाग लिने कार्यक्रम छ । मन्त्रालयका अनुसार उपप्रधानमन्त्री थापा शनिबार स्वदेश फर्कनुहुनेछ । रासस

 

LIVE TV