काठमाडौं । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले निर्वाचित भएका छन् ।
देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यवाहक सभापति समेत रहेका रामचन्द्र पौडेलले १ हजार २९६ मत ल्याएका छन् ।
सोमबार भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा कांग्रेसको सभापति बनेका हुन् । देउवाको जितसँगै नेपाली कांग्रेसले १९ वर्षपछि कोइराला परिवार बाहिरबाट सभापति पाएको छ ।
आइतबार भएको पहिलो चरणको मतदानमा देउवा मात्र ११ मतले सभापतिमा निर्वाचित हुन चुकेका थिए । तर, दोस्रो चरणमा देउवाले आफ्नो मत बढाउँदै सभापति बनेका छन् ।
कांग्रेसको निर्वाचन समितिका अनुसार सोमबार भएको दोस्रो चरणको निर्वाचनमा ३ हजार १२० मत खसेको थियो । तर, मत मत गणनाका क्रममा २० मत बढी भेटियो, जुन अधिकांश नमुना मत पत्रहरु थिए ।
सहमतिका आाधारमा सबैलाई खसेको मत मानेर तोकिएको मापदण्ड नपुगेका २२ मतलाई बदर गरिएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए ।
१० औं र १२ औं महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए ।
सुशील कोइरालाको निधन लगतै भएको महाधिवेशनबाट देशको सबैभन्दा ठुलो र पुरानो पार्टी नेतृत्वको बागडोर देउवामा हातमा आएको छ । ०५३ मा नवौबाट महाधिवेशन झन्डै २० बर्ष कोइराला परिवारमा नेतृत्व रहेको थियो ।