
नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन अपरान्ह २ बजेबाट सुरु हुने भएको छ । दोस्रो चरणमा देउवा र रामचन्द्र पाडेलबीच प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको निर्वाचन समितिले आज अपरान्ह २ देखि ५ बजेसम्म मतदान हुने जनाएको हो । पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पुनः निर्वाचन हुने भएको हो । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले १५ सय ६४ मत ल्याई पहिलो भए पनि ५१ प्रतिशत मत भने ल्याउन नसक्दा चुनाव दोस्रो चरणमा गएको हो । त्यस्तै, पहिलो चरणको निर्वाचनमा रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याउँदै दोस्रो स्थानमा रहनुभएको छ । कृष्ण सिटौलाले ३ सय २४ मत ल्याउँदै पहिलो चरणकै निर्वाचनबाट बाहिरिनुभएको छ । १०० मत बदर भएका छन् ।
हिजो सम्पन्न निर्वाचनको मत गणना राति १० बजे नै शुरु गर्ने भनिए पनि झण्डै पौने चार घण्टा ढिलो गरि मध्येराति पौने दुईबजे मात्र शुरु भएको मतगणना विहान सवा पाँच बजे भएको हो ।
कांग्रेस विधानमा सभापतिमा विजयी हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । पहिलो चरणको निर्वाचनमा तीनै उम्मेद्वारले ल्याएको मत ५१ प्रतिशत भन्दा कम हो । देउवालाई भने ५१ प्रतिशत मतको लागि ११ मत कम भएको छ । अब पुनः दोस्रो चरणको निर्वाचन देउवा र पौडेलबीच प्रतिस्पर्धा हुने छ ।