काठमाडौँ, महाशिवरात्रिका अवसरमा आराध्यदेव पशुपतिनाथमा साधुसन्त आकर्षणको पात्र बन्दै आएका छन् । महाशिवरात्रिमा दर्शनार्थीका लागि रमाइलो पात्र बन्ने गरेका साधु सन्तहरुले गाजा भाङ तानेर मनोरञ्जन गराउने मात्र नभई गाजा भाङ बेच्ने समेत गरेको आरोप खेप्दै आएका छन् । तर यसपटक भने महाशिवरात्रिमा सुरक्षाको कारण देखाउँदै साधुसन्त तथा बाबाजीहरुलाई गाजा भाङ वेचविखन गर्न नदिइने भएपनि उनीहरुको आक्रोशको पारो चुलिएको छ ।
शिवरात्रि पर्वमा सुरक्षाका कारण देखाउदै पशुपतिनाथ मन्दिर परिसरमा धुमपान गर्न र किनबेच गर्न नपाइने भएको छ । जसका कारण साधु सन्तहरु आक्रोशित बनेका छन् । शिवरात्रिको अवसरमा देश विदेशका साधु सन्तहरु तथा दर्शनार्थीहरु काठमाडौंको पशुपतिनाथको मन्दिरमा भेला भएका छन् । तर यसपालीको शिवरात्रीमा भने नशालु पदार्थहरुको बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न पशुपति क्षेत्र विकास कोषले प्र्रतिबन्ध लगाएपछि साधु सन्तहरु आक्रोसित बनेका हुन । पशुपति क्षेत्रभित्र धार्मिक, साँस्कृतिक मर्यादा र सुरक्षा कायम राख्ने उद्देश्यले नेपाल प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धानका सम्बन्धित निकायहरु खटिने पशपति क्षेत्रविकास कोषका सदस्य सचिव गोविन्द टण्डनले बताउनुभयो । उँहाले उच्च ओहदाका व्यतिmत्वहरु सहभागी हुने भएकाले पशुपति क्षेत्र परिसरलाई सभ्य र सुरक्षित बनाउनुपरेको तर्क राख्नुभयो ।
आफुहरु शिबरात्रि मनाउन पशुपति आएकोले नेपालको नियमहरुलाई पालना गर्ने केहि साधुहरुले बताउदै गर्दा नशालु पदार्थहरु सेवन गर्न रोक लगाएकोमा धेरैजसो साधुहरु भने आक्रोसित बने । उनीहरु आफुहरुलाई पहिलेको शिवरात्रीमा जस्तो सुविधा नदिएको भन्दै गुनासो समेत पोखे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सूचना निकालेर मन्दिर परिसरभित्र मदिरा, गाँजा भाङ, धतुरो तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी गराएको थियो । कुनै बेला सरकारले नै महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा आउने साधुसन्तलाई गाजा भाङ धतुरो लगायतको सुविधा उपलब्ध गराउँदै आएको थियो । यही सेवा सुविधाबाट पल्केका साधुसन्तहरु सुविधा काटनु अन्याय भएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।