२३ फाल्गुन २०७२, आईतवार

काठमाडौँ, गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सोमबार मुलुकभर ‘सेना दिवस’ मनाउदैँछ ।

sena-divas-1
सेना दिवसको अवसरमा भोलि बिहान ११ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना हुनेछ । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुुहुनेछ ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् ।

sena_506691097

जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ ।
Nepal-Army
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण विगतमा अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो ।

वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालदेखि भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ । उक्त सुरक्षा सङ्गठनको प्रमुखमा अहिले प्रधानसेनापति राजेन्द्र क्षत्री हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता सन् १९५८ बाट सुरु भएकोमा हालसम्म एक लाख १० हजार ७७६ जनशक्तिबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका ६३ जनाले वीरगति पाउनुका साथै ५९ जना गम्भीर घाइते भएका छन् ।

नेपाली सेनाका चार हजार २०० फौज विश्वभरका १५ वटा संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थ हाल परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल अग्रणी स्थानमा रहेको छ । पछिल्लो समय छिमेकी राष्ट्रका सेनाको साथसाथै विश्वका अत्यन्त शक्तिशाली मुलुकका लागिसमेत पेसागत क्षमता र दक्षता अभिवृद्धिको केन्द्रसमेत नेपाल बन्दै गएको छ ।

पछिल्ला वर्षहरुमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख सुरक्षा अङ्गको रूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ । ‘सङ्गठनलाई सुम्पिएको जिम्मेवारीअनुरूप देश र जनताको हितका खातिर तथा संयुक्त राष्ट्रसङ्घीय शान्तिस्थापना कार्यमा समेत नेपाली सेना अहोरात्र खटिएर परिणाममुखी योगदान दिँदै आएको छ ।

राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ । रासस

 

LIVE TV