२२ फाल्गुन २०७२, शनिबार

विराटनगर, प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा निर्माण भएको संविधान सम्पूर्ण देशवासीको साझा सम्पत्ति रहेको बताउनुभएको छ ।

1kpoli
नेकपा (एमाले) पार्टीद्वारा सञ्चालित तीन महिने तराई–मधेस अभियानको समापन समारोहलाई आज विराटनगरको सहिद मैदानमा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

संविधान बन्न नदिने षडयन्त्रलाई पराजित गर्दै संविधान निर्माणको कामलाई एमालेले ऐक्यबद्ध भएर अगाडि बढाएको प्रसङ्ग उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले यस संविधानमा समानताको हक, मानवअधिकार, स्वतन्त्र न्यायपालिकाका साथै मधेसी, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम र महिलालाई विशेष अधिकार प्रदान गरेको जानकारी गराउनुभयो ।

संविधानमा अधिकारको विषयमा कसैलाई अन्यौल र भ्रममा नपर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले १२५ जनजाति र १२३ भाषाभाषी भएको मुलुकमा सबैको धर्म र संस्कृतिको संरक्षण गर्ने खालको संविधान रहेको बताउनुभयो ।

उहाँले मधेसी–पहाडी भनेर दुश्मनी फैलाउने प्रयास भइरहेकाले यसलाई चिर्न सबैलाई सामाजिक सद्भाव बलियो बनाउनेतर्फ जुट्न सुझाव दिनुभयो ।

उहाँले कसैको जिद्धी र लहडमा संविधानको संशोधन हुँदैन भन्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले जनताको हकहितलाई ध्यानमा राखी संविधानलाई संशोधन गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो –“हालै भारत भ्रमणबाट दुई देशबीचको असमझदारी हटेको, नाकाबन्दीको अवस्था समाप्त भएको र भारतसहित सारा संसारले संविधानलाई स्वागत गरेको छ ।” उहाँले संविधान निर्माणको काम सम्पन्न भइसकेको र अब राष्ट्र निर्माणको काममा एकजुट भएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो – “रानी, विराटनगरदेखि चीनको सिमाना किमाथाङकासम्म दुई लेनको पक्की सडक निर्माणको सर्भे सुरु भएको छ र १५ वर्षभित्र सप्तकोसीलगायतका नदीबाट सिँचाइको प्रबन्ध मिलाउन सर्भेगरी कृषि क्षेत्रलाई आधुनिकीकरण गरिनेछ ।”

उहाँले एक वर्षभित्र विद्युत्भार कटौतीको अन्त्य गरिने र दुई वर्षभित्र उद्योगलाई उनीहरुको आवश्यकताअनुरुपको विद्युत् उपलव्ध गराउने लक्ष्यका साथ सरकारले काम अगाडि बढाएको जानकारी गराउनुभयो ।

उहाँले धरान, चतरा हुँदै गाईघाट, कटारी तथा मकवानपुरसम्म सडक निर्माणका लागि सर्भेको काम सुरु भएको र मध्यपहाडी पुष्पलाल मार्गलाई स्तरोन्नती गरिनुका साथै हुलाकी राजमार्ग दुई लेनको बनाउने कार्यमा सरकार अग्रसर भइसकेको जानकारी गराउनुभयो ।

उहाँले काठमाडौँमा मेट्रो सन्चालनका साथै काठमाडौँबाट लुम्बिनी र रसुवागढी रेलमार्गले जोड्नेतर्फ पनि प्रयास गरिने बताउनुभयो । रासस

 

LIVE TV