
युक्रेन, रसिया पक्षधर युक्रेनी समूह र सरकारी सेनाबीच भएको भिडन्तमा गएको २४ घण्टामा दुई जना युक्रेनी सेनाको मृत्यु भएको युक्रेनको सेनाका प्रवक्ताले राजधानी किएभमा एक पत्रकार सम्मेलनमा शनिबार बताउनुभएको छ ।
झन्डै दुई वर्ष लामो युद्धलाई युरोपेली नेताहरुले समाधानका लागि पहल गर्न युक्रेन र रसियालाई यसै साता दबाब दिए पनि दुई पक्षबीच आ–आफ्ना अडान कायमै रहेका र यस साताको अन्त्यमा भएका भिडन्तमा दुई सेनाले सहादत प्राप्त गरेका हुन् । घटनामा पाँच युक्रेनी सेना घाइते भएका छन् ।
दुर्भाग्यबस दुई सैन्य अधिकारीको विद्रोहीको आक्रमणमा परी ज्यान गएको छ, सैनिक प्रवक्ता एन्ड्रिभ लिसेन्कोले पत्रकारसँग बताउनुभयो ।
सरकार नियन्त्रित मरिउपोल बन्दरगाहको नजिकै विद्रोहीले गस्ती गरिरहेको थाहा पाएपछि सेनाल पछिल्लोे कारबाही चलाएको थियो ।
गएको बिहीबार फ्रान्स र जर्मनीले पेरिसमा युक्रेन र रसियासँग युक्रेनमा ब्याप्त द्वन्द्व अन्त्यका लागि पहलस्वरुप वार्ता भएको थियो । तर विद्रोही नियन्त्रित इलाकामा निर्वाचन गर्ने कुरामा सहमति हुन नसक्दा सो पहलले सकारात्मक दिशा लिन सकेको थिएन ।
पूर्वी युक्रेनको सो इलाकामा भएको द्वन्द्वका कारण नौ हजारभन्दा बढी युक्रेनी नागरिकको मृत्यु भएको छ ।
सन् २०१४ मा सुरु भएको द्वन्द्वमा करिब २१ हजार मानिस घाइते भएका छन् । रासस