२२ फाल्गुन २०७२, शनिबार

भक्तपुर, उपराष्ट्रपति नन्दबहादुर पुनले भक्तपुर क्यान्सर अस्पतालले सञ्चालनमा ल्याएको सिटी डाइग्नोसिस सेन्टरको आज उद्घाटन गर्नुभएको छ ।

Nanda-Bahadur-pun
आज नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको २१आँै वार्षिकोत्सव कार्यक्रमका अवसरमा उहाँले सिटी डाइग्नोसिस सेन्टरको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उहाँले प्रति एक लाख नागरिकमध्ये १२० जनालाई क्यान्सर रोग लाग्ने जोखिम रहने गरेकाले यसबाट बच्न उच्च सतर्कता अपनाउनु पर्दछ भन्नुभयो ।

एउटै छानोमुनिबाट क्यान्सर रोगको सम्पूर्ण उपचार दिनसक्ने अवस्थामा क्यान्सर अस्पतालको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले अस्पतालको विकास र थेरापी मेसिनलगायतका प्राविधिक सामग्री किन्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

सरकारले विपन्न कोषमार्फत गरिब तथा विपन्न क्यान्सर बिरामीको उपचारका लागि रु एक लाख अनुदान दिँदै आएकामा अब कम्तीमा रु तीन लाख दिनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई आग्रह गर्ने प्रतिबद्धतासमेत उपराष्ट्रपतिले व्यक्त गर्नुभयो ।

समयमै उपचार गरे क्यान्सर रोग निको हुने भएकाले नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नपर्नेमा उहाँले जोड दिनुभयो । आयुर्वेदिक, प्राविधिक र आधुनिक चिकित्सा पद्धतिको विकास गर्दै विभिन्न स्वास्थ्य संस्था र यसमा आवश्यक जनशक्तिको वृद्धि गर्दै लैजाने सरकारको योजना रहेको उहाँले चर्चा गर्नुभयो ।

संविधानले स्वास्थ्य सेवामा पनि जनताको समान पहुँच स्थापित गर्ने व्यवस्था गरेको बताउँदै उपराष्ट्रपति पुनले भन्नुभयो˗ “नेपालमा संविधान प्राप्त भएको छ, यो २००७ साल, २०४६ साल र २०६२÷६३ सालको जनआन्दोलन एवम् जनसङ्घर्षबाट भएको अग्रगामी परिवर्तनलाई संविधान जारी भएर संस्थागत गरेको छ ।”

कार्यक्रममा क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा रु एक लाखभन्दा बढी आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । त्यसैगरी क्यान्सर अस्पतालका संस्थापक एवम् क्यान्सर विशेषज्ञ स्वर्गीय डा अन्जनीकुमार शर्माको नाममा स्थापना गरिएको प्रो अन्जनीकुमार शर्मालाई उत्कृष्ट अनुशासन पुरस्कार २०७२ बाट ल्याब टेक्निसियन अविनाशकुमार कर्ण र लेखा शाखाका प्रबुद्धजङ्ग रायमाझीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा अस्पतालका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दिवाकरराज कर्णीकार, पूवसांसद लेखनाथ न्यौपाने, व्यवस्थापन समितिका सल्लाहकार कर्ण शाक्य, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाशराज न्यौपाने, व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठलगायतले भक्तपुर क्यान्सर अस्पताललाई सम्पूर्ण क्यान्सर रोगको उपचार एकै ठाउँबाट गर्न सक्नेगरी विकास गर्नुपर्नेमा जोड दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV