महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १ देखि २० फागुनसम्म उपत्यकामा तीन सय ८१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा १७ को मृत्यु, ११ जना गम्भीर घाइते तथा दुई सय २२ जना घाइते भएको महाशाखाको तथ्यांक छ ।
अघिल्लो महिनाभन्दा फागुनमा दोब्बरको मृत्यु
फागुनको दुर्घटनामा मृत्यु भएको तथ्यांक अघिल्ला महिनाको भन्दा दोब्बर हो । पुस र माघमा उपत्यकामा आठ–आठजनाको मृत्यु भएको थियो । महाशाखाका अनुसार साउनयताको तथ्यांकले उपत्यकामा दैनिक करिब १५ दुर्घटना हुने गरेको देखाएको छ । साउनमा चार सय ९५ दुर्घटना र १६ को मृत्यु, भदौमा चार सय ४८ को दुर्घटना र १६ को मृत्यु भएको थियो । असोजमा तीन सय २८ दुर्घटना र १३ को मृत्यु, कात्तिकमा दुई सय ५३ दुर्घटना र आठको मृत्यु भएको महाशाखाले जनाएको छ । मंसिरमा तीन सय ५४ दुर्घटना र १८ को मृत्यु, पुसमा चार सय २१ दुर्घटना र आठको मृत्यु, माघमा चार सय ५० दुर्घटना र आठजनाको मृत्यु भएको थियो ।
धेरै दुर्घटनामा चालककै लापरबाही
ट्राफिक प्रहरीका अनुसार करिब ९० प्रतिशत कारण चालकको लापरबाही छ । १ साउनदेखि २० फागुनसम्म भएका दुई हजार सात सय ४९ दुर्घटनामध्ये दुई हजार पाँच सय १८ दुर्घटना चालकको लापरबाहीले भएको प्रहरी तथ्यांक छ । यो अवधिमा एक सय ६ दुर्घटना मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, ४४ वटा यान्त्रिक गडबडी र ३६ वटा तीव्र गतिले भएका हुन् ।
उपत्यकामा बिहान ६ बजेदेखि बेलुका ६ बजेको अवधिमा धेरै दुर्घटना हुने गरेको छ । १ साउनयताका दुर्घटनामा एक हजार नौ सय ३८ दुर्घटना बिहान ६ देखि बेलुका ६ बजेको अवधिमा भएको छ । साँझ ६ देखि बिहान ६ बजेको अवधिमा आठ सय ११ दुर्घटना भए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।