२१ फाल्गुन २०७२, शुक्रबार

रुपन्देही,  पशु विकास राज्यमन्त्री नरमाया पुनले बुटवल–१२ रामनगरमा निर्माण भएको पशु बधशाला १५दिनभित्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

meat

बुटवल औद्योगिक क्षेत्र निर्माण भएको बधशाला अवलोकन गर्दै राज्मन्त्री पुनले बधशाला निर्माण भएर पनि सञ्चालन हुन नसक्दा उपभोक्ताले अस्वस्थकर मासु उपभोग गर्न बाध्य भएको बताउँदै निर्देशनलाई तत्काल कार्यान्वयन नगरे सम्बन्धित निकायलाई कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले पशु बधशाला सञ्चालन गर्ने नेपालको पहिलो उपमहानगरपालिका बन्न बुटवल उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।

उपमहानगरपालिकाको स्वामित्वमा रहेको बधशाला सञ्चालन गर्ने प्रक्रियाको विषयमा सहमति भइसकेको छैन । मासु व्यवसायी सङ्घले आफूहरुले तत्कालै सञ्चालन गर्न सकिने बताएको छ ।
सो अवसरमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत धु्रवबहादुर खड्काले बधशाला छिटोभन्दा छिटो सञ्चालन गर्नेगरी उपमहानगरपालिकाले काम गरेको जानकारी दिनुभयो ।

पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालयले पहिलो चरणको कामका लागि विसं २०६५ फागुनमा सम्झौता गरी बधशालाको निर्माण अगाडि बढाएको थियो । निर्देशनालय र उपमहानगरपालिकाको सहलगानीमा दोस्रो चरणको सजावट तथा भवन निर्माण सम्पन्न भएको हो । दुई चरणमा गरी करिब रु डेढ करोडमा बधशाला निर्माण भएको हो । मासु व्यवसायी सङ्घका अनुसार बुटवलमा दैनिक करिब २०० खसी, दुई हजार कुखुरा, ४० राँगा, पाँच बङ्गुर र पाँच क्विन्टल बराबरको माछा बध गरिन्छ । रासस

 

LIVE TV