२१ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, नाका केन्द्रित आन्दोलन छोडेर शक्ति सञ्चय गरिरहेको लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै बुधबार घोषणा गरेको तेस्रो चरणको आन्दोलनप्रति नैतिक समर्थन एवं शक्ति जुटाउन मोर्चा सम्वद्ध शीर्ष नेता आगामी साता पुनः भारतको नयाँदिल्ली जाने तयारी गरिरहेका छन् ।

madhesi

मोर्चाका संयोजक एवं तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

फागुन २९ गते शनिबारदेखि चैत २ गतेसम्म भारतको नयाँदिल्लीमा कार्यक्रम भएकोले आफूहरू जाने तयारी भएको नेता ठाकुरले बताए । अध्यक्ष ठाकुरले दिल्लीको भ्रमण एवं भारतका कुनकुन पार्टीका नेतासँग भेट हुने र के सम्झौता गरिन्छ भन्नेबारे भने केही बोल्न चाहेनन् । ‘हामी दिल्ली जाँदै छौं, नेपाल–भारत महिला मैत्री समाजले निम्तो गरेको छ । त्यहाँ सत्तापक्ष एवं प्रतिपक्षका केही नेता पनि दिल्ली जानेछन्’, उनले भने ।

यसैबीच नेता ठाकुरले सरकार मोर्चाका माग एवं आन्दोलनप्रति अझै गम्भीर नदेखिएकाले मुलुक अर्को मुठभेडमा जाने खतरा बढेको चेतावनी दिए ।

सरकारी पक्ष गम्भीर नहुँदा मुलुकमा आन्दोलन चर्केको घटना उनले दोहोर्‌याए । ‘सरकारले मोर्चासँग राम्रोसँग व्यवहार र संवाद गरेको छैन, संवादमा अविस्वासको दृष्टिकोण हटेको छैन त्यसैले मोर्चाका माग पूरा नहुँदा आन्दोलन मुठभेडमा जाने खतरा देखेका छौं”, उनले भने ।

‘यतिबेला हामी शान्त छौं, तर कसैलाई पनि मधेसी मोर्चाको आन्दोलन तुहियो भन्ने भ्रम नहोस्’, उनले चेतावनी दिँदै भने, ‘यो शान्तपन आगामी आन्दोलनको तयारी हो । दुईपक्षबीच विभेद र खाडल बढेको छ ।’

ओलीले संघीयताको सीमांकन, मोर्चाको आन्दोलन एवं नाकावन्दीका विषयमा कमल थापको संयोजकत्वमा एक सदस्यीय संयन्त्र घोषणा गरी भारतीय पक्षलाई आँखामा छारो हाली भ्रमण गर्नका निम्ति भारतसँग ‘पान’ र ‘भिसा’ लिने काम गरेको बताए । तर उनको भ्रमण फलदायी नभएको मोर्चाका नेताले टिप्पणी गरेका छन् ।

यसैबीच तमलोपाले नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको संयुक्त बैंठक गरी विगतको आन्दोलनको समीक्षा गर्दै भावी संकल्प सम्बन्धी कार्यपत्र प्रस्तुत गरी सुझाव संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV