
झापा, विसं २०४६ मा प्रजातन्त्र पुनःबहाली भएपछि नेपालमा दर्जनौँ सरकार फेरिए । बामपन्थी दलबाटै छ जना प्रधानमन्त्री भए । नेकपा (एमाले)बाटै चार जनाले सिंहदरबारमा तस्बिर टाँगिसके । धन्न, प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मात्र सुखानीका सहिदले राज्यबाट मान्यता पाए ।
आज फागुन २१ गतेकै दिन झापा विद्रोहमा लागेर पञ्चायतविरुद्ध सङ्घर्षको नेतृत्व गरेको अभियोगमा तत्कालीन निरङ्कुश सरकारले ओलीकै सहयोद्धा झापाका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो ।
सहादतको ४३ वर्षपछि मात्र सुखानीका सहिदले मान्यता पाउनुमा एमालेको नेतृत्वमा सरकार हुनु र त्यसमा पनि सहिदका सहयोद्धा नै प्रधानमन्त्री रहनु मुख्य कारण भएको झापा आन्दोलनका अग्रज नेता एवम् सांसद नरेश खरेल बताउनुहुन्छ ।
यसअघि एमालेकै मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका थिए भने एकीकृत नेकपा(माओवादी)बाट पुष्पकमल दाहाल र डा बाबुराम भट्टराई सोही पदमा पुगिसक्नुभएको थियो । तर उहाँहरूको कार्यकालमा समेत सुखानीका सहिदलाई राज्यले चिनेन ।
सुखानीका सहिद कम्युनिस्टका मात्र सम्झिन नहुने उल्लेख गर्दै एमाले झापाकी नेत्री मीना उप्रेतीले सरकारले सुखानी लगायतका सहिदलाई मान्यता दिएकामा खुसी व्यक्त गर्नुभयो ।
सहिद रामनाथ दाहालका छोरा नरेन्द्रले भन्नुभयो, “धेरै पहिलेदेखि हामीले पार्टीलाई घच्घच्याएका थियौँ, घोषणाले जनताका लागि बलिदान गरेका सच्चा सहिदको सम्मान भएको छ ।” आज सुखानीमा ँ विभिन्न राजनीतिक दलले कार्यक्रमको आयोजना गरेका छन् । रासस