
कांग्रेस महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै, नेतृत्वको लागि प्रतिष्पर्धा तीव्र भएपछि नीति तथा कार्यक्रममाथिको छलफल ओझेलमा
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आज शुक्रबार बन्द सत्र सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
बन्दसत्र सुरु नहुँदै नेतृत्वको लागि प्रतिष्पर्धा तीव्र भएपछि नीति तथा कार्यक्रममाथिको छलफल ओझेलमा पर्ने देखिएको हो । नेताहरु आआफ्नो समूहमा बाँडिएर चुनावी प्रचार गर्न व्यस्त छन् । मनोनयन दर्ता नहुँदै उम्मेदवारहरु मतदातालाई रिझाउन व्यस्त देखिएका छन् । महाधिवेशन प्रतिनिधिहरु बसेको तथा बन्द सत्र हुने ठाउँमा छुट्टाछुट्टै समूहको भेला तथा बहस कार्यक्रम सञ्चालन भैरहेका छन् । सभापतिका दावेदार पौडेल, देउवा र सिटौला तीनैजना दौडधुपमा व्यस्त छन् । संस्थापनबाटै दुई समूह भिडेकाले देउवा समूहले आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ भने पौडेल र सिटौला समूह पनि आफ्नो पक्षले जित्नेमा ढुक्क भएको बताइरहेका छन् । कांग्रेसको विधान अनुसार निर्वाचनको पहिलो चरणमा सभापतिका कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । त्यसो नभएमा फेरि दोस्रो चरणमा चुनाव हुनेछ ।