काठमाडौँ, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायत विरोधी सङ्घर्षका क्रममा सुखानीमा जीवन उत्सर्ग गर्ने पाँच सहिदको योगदानको स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै सुखानीमा जीवनोत्सर्ग गर्ने रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल लगायत सहिदप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । विसं २०२९ फागुन १९ गते तत्कालीन निरङ्कुश शासकविरुद्ध विद्रोह गर्ने क्रममा बन्दी बनाइएका नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका निम्ति लड्ने झापाका पाँच अग्रज नेतालाई चन्द्रगढी कारागारबाट इलाम सार्ने निहुँमा सुखानीको जङ्गलमा लगी कायरतापूर्वक हत्या गरिएको थियो ।
“व्यक्तिगत सुखसुविधा र पारिवारिक हितको कुनै परवाह नगरी निरङ्कुशतन्त्रविरुद्ध बलिदानी सङ्घर्षमा होमिने उहाँहरूको सङ्घर्षशील जीवन एवम् देश, जनता र क्रान्तिको पक्षमा बुलन्द आवाज उठाउँदै हाँसीहाँसी मृत्युको सामना गर्ने गौरवशाली सहादतले नेपाली जनतालाई लोकतान्त्रिक आन्दोलनमा होमिन उत्प्रेरणा प्रदान गरेको थियो”– विज्ञप्तिमा उल्लेख छ । उहाँहरूकै बलिदानको जगमा उभिएको एमाले आज राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्न सफल भएको र सहिदको आदर्शबाट प्रेरित जनताको आन्दोलनका बलमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँले बताउनुभएको छ ।
“जनता सम्प्रभु एवम् अधिकारसम्पन्न भएका छन्, नेपालको संविधान जारी भएर मुलुक दिगो शान्ति, समुन्नत लोकतन्त्र, राजनीतिक स्थिरता, सामाजिक न्याय र समृद्धिको दिशामा अग्रसर भएको छ, हामीले प्राप्त गरेका यी युगान्तकारी उपलब्धिमा सहिदको प्रेरणाले सदैव मार्गदर्शन गरिरहेको छ”– विज्ञप्तिमा भनिएको छ ।
सहिदका यिनै अविस्मरणीय योगदानलाई स्मरण गर्दै फागुन १९ गते सरकारले झापा आन्दोलनका अग्रजलगायत निरङ्कुशतन्त्रविरुद्ध न्याय र समानताको आन्दोलनमा जीवनोत्सर्ग गर्ने योद्धालाई राज्यका तर्फबाट सहिदको विधिवत् सम्मान प्रदान गर्ने निर्णय गरेको छ । टिम्बुरबोटे, छिन्ताङ, पिस्कर लगायत विभिन्न घटनामा तत्कालीन शासकबाट कायरतापूर्वक हत्या गरिनुभएका सहिदको पहिचान गरी राष्ट्रिय सम्मान प्रदान गर्न विशेष कार्यदल समेत गठन गरिएको छ । कार्यदलको प्रतिवेदनका आधारमा सहिदहरुलाई उच्च सम्मान गरिने विश्वास समेत पार्टीले व्यक्त गरेको छ ।
संविधानको प्रभावकारी कार्यान्वयन मार्फत आर्थिक–सामाजिक रूपान्तरणलाई तीव्र रूपले अगाडि बढाउँदै नेपाललाई समृद्ध र समुन्नत राष्ट्रका रूपमा स्थापित गर्न सक्नु नै सहिदप्रति साँचो श्रद्धाञ्जलि हुनेछ भन्दै प्रधानमन्त्री ओलीले नेपाली राजनीतिका पछिल्ला घटनाक्रमले सबैलाई मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, स्वाभिमान, राष्ट्रियहित, सामाजिक सद्भाव र आत्मनिर्भरताका निम्ति अझ बढी सजग, एकताबद्ध र क्रियाशील भएर अगाडि बढ्नुपर्ने शिक्षा दिएको उल्लेख गर्नुभएको छ ।
वैचारिक स्पष्टता, सङ्गठनात्मक चुस्तता, कार्यशैलीगत स्वस्थता र व्यापक जनाधारयुक्त पार्टीको नेतृत्वमा मात्रै यी अभिभारा पूरा गर्न सम्भव भएको र पार्टीको काँधमा आएका ऐतिहासिक अभिभारा पूरा गर्न दृढ सङ्कल्पित हुँदै सहिदले देखाएको बाटामा अगाडि बढिरहने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ । रासस