२० फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, संविधान जारी गर्दा आफूसँग सल्लाह नगरेको भन्दे भारतले ६ महिनासम्म लगाएको नाकाबन्दीप्रति भारतीय नेताले नै माफी मागेका छन्।

bharatiya netaa

काठमाडौंको खुलामञ्चमा कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजवादी लोकतान्त्रिक पार्टीका नेता विजय प्रतापले भारतीय नाकाबन्दीले ६ महिनायता नेपाली जनताले कठिनका साथ गुज्रिनु परेकोमा माफी मागेका हुन्।

‘पछिल्लो ६ महिनामा नेपालले भोगेको भारतीय नाकाबन्दीप्रति माफी माग्छौं’, उनले भने, ‘नाकाबन्दी गरेकोमा हामीलाई ‘लज्जित’ बनाएको छ भने दुखित पनि उत्तिकै बनाएको छ।’ सम्बोधनका क्रममा उनले छिमेकी देशमा भारतीय सत्तापक्षले गरेको अन्यायपूर्ण व्यवहार अक्षम्य रहेको पनि बताए।

उनले सम्बोधनका क्रममा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई स्मरण गर्दै उनले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा नहिँड्दा समस्या भएको बताए।

‘बिपी कोइरालाको सपना लोकतान्त्रिक समाजवाद नआए देशमा धार्मिक कट्टरता आउँछ’, उनले भने, ‘त्यसबाट देश र जनताले दुःख पाउँछन्।’

अहिलेको नेपालको जटिल अवस्था बिपीले देखाएको बाटोमा नहिँड्दा आएको बताउँदै लोकतान्त्रिक समाजवादको बाटोले नै देशलाई समृद्ध बनाउने उल्लेख गरे। भारतमा पछिल्लो समय बढेको उग्र राष्ट्रवाद र धार्मिक कट्टरताको नाराले देश संकटमा पर्दै गएको बताउँदै उनले यसतर्फ नेपाल र नेपाली जनतालाई सतर्क हुन आग्रह गरे।

 

LIVE TV