
काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नक्कली प्रमाणपत्रधारी १२ जना डाक्टरलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सिआइबीले मेडिकल काउन्सिल ऐन र ठगी गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
सिआइबीले झापा विर्तामोडस्थित बी एन्ड सी अस्पतालमा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीका प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्बद अरुल हक, ग्लोबल अस्पताल सिरहामा कार्यरत मोहमद अहमद सिद्धिकी, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह बिरुद्ध मुद्धा दायर गरेको हो । काउन्सिल ऐन अनुसार तीन वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
यसैगरी सिआइबीले सरकारी अस्पतालमा कार्यरत तीन जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरेको छ ।प्रक्राउ परेकी विनिता यादव मानसिक अस्वस्थ भएकाले मुद्दा दायर भएन ।
सिआइबीको अनुसन्धानमा नक्कली डाक्टर भनेर समातिएकाहरुले आफ्नो एमबिबिएसको प्रमाणपत्र आफैँले छाप्नेसम्मको हर्कत गरेको खुलेको थियो । पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख मोरङ, कटहरीका पशुपति चौधरीले एमबिबिएस पासको मार्कसिट आफैँले छापेको भेटिएको थियो । आफूले छाप्दा चार ठाउँमा अक्षर समेत बिगारेका छन् । उनले सिएमएमात्रै अध्ययन गरेको स्वीकारेका छन् ।
विनिता यादव, मोहम्मद कमरुल, श्यामबाबु साह, भगवान केवट मल्लाह, शैलेन्द्रकुमार महतो, अफजल हुसैन र राजेन्द्रकुमार दासको भने एसएलसी र प्रवीणतापत्रको प्रमाणपत्र नक्कली भेटिएको छ । उनीहरूले पटनामा गएर आफैँले छापाखानामा प्रमाणपत्र छापेको स्वीकारेका सिआइबीका प्रहरी उपरीक्षक एसपी दिवेश लोहनी बताउँछन् ।
कतिपयले भने चिकित्सा शिक्षा अध्ययनका लागि चाहिने नम्बर ल्याउन नसकेपछि आफूखुसी नम्बर थपेर प्रमाणपत्र बनाएका छन् । पक्राउ परेकामध्ये सन्तोषकुमार यादवले पढेको रेकर्ड देखिए पनि मार्कसिटमा नम्बर भने आफूखुसी थपेका छन् । यस्तै, मोहम्मद अलमद सिद्धिकीले भने सुजितकुमारको मार्कसिटमा आफ्नो नाम राखेको भेटिएको थियो ।
यसैगरी, परीक्षा पास गर्ने तर आफूखुसी नम्बर थप्नेमा तुलसीकुमार महतो र कल्याण विश्वास छन् । उनीहरुले एमबिबिएसको प्रमाणपत्रसमेत किनेको नक्कली लिएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली सर्टिफिकेटधारी एक जना त फिलिपिन्सबाट विशेषज्ञ चिकित्सक एमडी भइसकेका छन् ।