१९ फाल्गुन २०७२, बुधबार

सधैं अभावको सामना गरिरहेका मुगुवासीलाई अहिले आयोडिनयुक्त नुनको अभाव भएको छ । नुन अभावमा यहाँका नागरिक अलिनो खाना खान वाध्य छन् । चरम खाद्य संकट ब्यहोरिरहेका मुगुवासीलाई नुनको समेत अभाव भएपछि प्राण धान्न नै धौधौ भएको छ । मुगु सदरमुकाम गमगढी आसपासका दुई गाविसमा जसोतसो नुन पाइए पनि अरु २२ वटा गाविसका नागरिक भने पानीमा नुन हालेर खानबाट समेत बञ्चित भएका छन् ।

nun

दुई÷तीन दिन पैदल हिडेर भए पनि दुर्गम भेगका नागरिक नुन किन्न सदरमुकामसम्म आउँने गरेका छन् । तर, उनीहरु सदरमुकाममा समेत आयेडिनयुक्त नुन नपाएपछि खाली हात घर फर्कनु परेको छ ।
मुगुको खत्याड भेकमा रहेको सेरी, श्रीकोट, गम्था, कोटडाँडा, खमाले, सुकाढिक र ह्याङ्गलु गाविसमा वार्षिक चार सय क्वीन्टल नुनको कोटा सरकारले निर्धारण गरेको भए पनि नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनिले अहिलेसम्म नुन ढुवानी गरेको छैन ।
करिब दुई वर्षदेखि निरन्तर नुन अभावको पीडा झेलिरहेका मुगुवासी अहिले चरम खाद्य संकटको सामना गरिरहेका छन् । लामो समयदेखिको खडेरीका कारण मुगुका नागरिकलाई अहिले बिहान÷बेलुकाको छाक टार्न नै मुश्किल भएको छ । ४० वर्षयताकै सबैभन्दा लामो खडेरीका कारण भोकभोकैको स्थिति भोग्नु परेको पीडा यहाँका स्थानीयको छ ।
साल्ट ट्रेडिङ मुगु शाखाले प्रति केजीको नौ रुपियाँका दरले सर्बसाधरणलाई बितरण गर्दै आएको भने पनि जिल्लाको पुर्वी भेगका पाँच, उत्तरी भेगका सात र पश्चिम भेगका सात गरी १९ गाबिसका नागरिक दुई वर्षदेखि आयोडिनयुक्त नुनको अभावमा छन् । जहाँका नागरिक आयोडिनयुक्त नुनको अभावका कारण लाग्ने रोगबाट आक्रान्त छन् ।

तर, साल्टटे«डिङ्ग कर्पोरेसन मुगु शाखाका प्रमुख उपेन्द्र ठाकुर भने सदरमुकाममा पर्याप्त नुन रहेको र नपुगेको ठाउँमा पनि छिट्टै नुन पु¥याउँन प्रकृया सुरु भएको वताउँछन् ।
मुगुका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी भने अहिलेसम्म नुन अभावको कुनै सूचना नै नपाएको र ठेकेदार कम्पनीले पनि असार मसान्तसम्म नुन पु¥याउँने गरी सम्झौता गरेकाले आफूहरुले केही गर्न नसक्ने वताउँछन् ।
यता नुन आपूर्तीको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले भने मुगुमा नुन अभाव नै नभएको वताएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रवन्धक कुमार राजभण्डारीले मुगुमा मात्रै होइन, आफूहरुले ढुवानीको जिम्मा लिएको कुनै पनि जिल्लामा नुनको अभाव नभएको वताएका छन् ।
यसरी सरकारी निकायका प्रतिनिधि मुगुमा यथेष्ठ नुन छ भनेर दाबी गरिरहेने तर स्थानीय भने नुन अभावमा अलिनु खान पर्नेस्थितिमा रहनुको कारणबारे खोजी गर्न जरुरी छ । यदी, स्थानीय डिपोहरुलाई नुन आपूर्ती तथा ढुवानीको जिम्मेवारी दिएर तिनीहरुको आफ्नो जिम्मेवारी बहन नगरेको हो भने, खोजी गरेर कारबाही गर्नु पर्दछ । तर कुनै पनि नागरिक नुन अभावमा पिल्सनु नपरोस् !

प्रतिक्रिया दिनुहोस्
LIVE TV