
इलामको विल्याँटेबाट दुई दिनअघि चोरी भएको सुन र नगदसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा चोरीका मुख्य योजनाकार पाँचथर आङसाराङ –६ घर भइ बरबोटे– ३ बस्दै आएका ३२ वर्षीय यादव अधिकारी र सोयाङ –१ का दया भनिने उदयविक्रम तामाङ रहेका छन् ।
उनीहरुले लुकाएर राखेको करिब १२ तोला सुन र ३ लाख ४ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले बताए ।
बिल्याँटे बजारमा रहेको दुर्गाप्रसाद पराजुलीको कविता मनिट्रान्सफर र कविता गहना ट्रेड सेन्टरबाट फागुन १७ गते अधिकारी र तामाङसहित अन्य युवाहरुले चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मनिट्रान्सफर तथा गहना ट्रेड सेन्टरबाट उनीहरुले २२ तोला सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ । १० तोला सुन भने फेला नपरेको पनि प्रहरीले बताएको छ ।
उनीहरुबाट नेत्रविक्रम चन्द समूहको माओवादीको चन्दा रसिद, लेटरप्याड र एउटा अमेरिकी पेस्तोल तथा त्यसमा लाग्ने चारओटा गोलीसमेत बरामद भएको पनि प्रहरीले जनाएको छ ।