१९ फाल्गुन २०७२, बुधबार

मुस्ताङ,तेइसजनाको ज्यान जाने गरी म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएका जिल्ला प्राविधिक कार्यालय मुस्ताङका कर्मचारी बालकृष्ण निउरेका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

प्राविधिक कार्यालय र जिल्ला विकास समितिका सम्पूर्ण कर्मचारीले सङ्कलन गरेको सहयोग रकम रु ५५ हजार ५५५ जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीमार्फत स्वर्गीय निउरेका परिवारलाई उपलब्ध गराइएको हो ।

इञ्जिनियर तिवारीले बागलुङ पाला–८ मा पर्ने स्वर्गीय निउरेको घरमै पुगी उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । पीडाको समयमा सहयोग रकम पर्याप्त नभएपनि परिवारजनलाई सहानुभूति मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको इञ्जिनियर तिवारीले जानकारी दिनुभयो ।

अविवाहित निउरेका बुबा, आमा र पाँच दिदीबहिनी छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयमा दरबन्दी भएपनि निउरे प्राविधिक कार्यालयमा सहलेखापालका रुपमा काम गर्दै आउनु भएको थियो ।

फागुन १२ गते पोखरादेखि जोमसोम जाने क्रममा तारा एयरको ९ एनएएचएच कलसाइन भएको जहाज दुर्घटना हुँदा निउरेसहित २३ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

निउरे सरकारी सेवामा प्रवेश गरेको तीन वर्ष मात्रै भएको थियो । “यो सहयोगले केही मात्रामा भएपनि परिवारलाई समवेदना पुगेको छ, हामी सबैले जे भए पनि सहनुपर्छ भनेर परिवारलाई सम्झाएका छौँ”– इञ्जिनियर तिवारीले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV