१९ फाल्गुन २०७२, बुधबार

अब नेपालले जित्न थाल्यो , संसार जितेर देखाइदिन्छन नेपालीले अब । हार्न मान्दैनन नेपाली , खेलकुदले जुराएको जीतले देशको शान र मानमा पनि अभिवृद्धि भएको छ । फुटबल र क्रिकेटमा प्राप्त पछिल्लो सफलताले उत्साहित प्रधानमन्त्री केपी शर्मा ओलीको यी शब्द खेलप्रेमीको कानमा अझै पनि गुञ्जिरहेको छ नै । तर यथार्थ फरक छ ओली नेतृत्वको सरकारले बजेट नदिदा आजदेखि हुने तय भएको सातौ राष्ट्रिय खेलकुद फेरी अध्याँरो गर्तमा फ्यालिएको छ । नेपाली खेलकुद जगतको महाकुम्भको रुपमा चिनिने राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाली खेलाडीको कसी नाप्ने महत्वपूर्ण माध्यम पनि हो । नयाँ खेलाडीको प्रवेशद्धार मानिने राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्राष्ट्रिय सहभागिताका लागि खेलाडी छनौट र उत्साह बढाउने आधार पनि हो नै । तर दुर्भाग्य नेपालमा राष्ट्रिय खेलकुदको आयोजनामाथि पटकपटक लाग्दै आएको ग्रहण अझै हटन सकेको छैन । १२ औ दक्षिण एशियाली खेलकुदका लागि खेलाडी छनोटको आधार मानिने गरी घोषणा गरिएको सातौ राष्ट्रिय खेलकुद साग अघि त हुन सकेन नै अब कहिले हुने त्यस्को लागि अर्को मिति त तोकिएला तर आयोजना नभएसम्म विश्वास गर्न सक्ने कुनै आधार भने रहेन अब । सागका कीर्तिमानी स्वर्ण पदकधारी खेलाडी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदा खेलाडीले आफ्नो प्रतिभा देखाउने मौका नै नपाएको बताउछन् । उनले राष्ट्रिय खेलकुद प्रतियोगिता नहुनुमा सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद सबै दोषी रहेको बताउँदै खेलाडीलाई खेल्ने वातावरण बनाउँदै प्रतियोगिताको आयोजना निरन्तर हुनु पर्ने बताए ।

LIVE TV