१७ फाल्गुन २०७२, सोमबार

फागुन । दश वर्षे जनयुद्धको लक्ष्य र उद्देश्य अझै पूरा नभएको र माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्व्को माओवादीको गतिविधि हिजोआज खासै सुन्नमा आएको छैन ।

अहिले सो पार्टी लगभग चकमन्न जस्तो छ । केही महिलाअघि आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई राजधानी छाड्न उर्दी जारी गरेको विप्लव माओवादी अहिले के गर्दै होला ? सशस्त्र संघर्ष गर्ने उसको प्रतिवद्धता के व्यवहारमै रुपान्तरिक होला या यी सबै उसका धम्की मात्रै हुन् ?

यसबारे रोचक तथ्य फेला पारेको उल्लेख गर्दै साँघु साप्ताहिकले लेखेको छ– स्रोतका अनुसार, विप्लव माओवादी सशस्त्र संघर्ष गर्ने अन्तिम निष्कर्षमा पुगिसकेको छ । सशस्त्र संघर्षका लागि अनुकूल समय नभएकाले तत्काल उसले सशस्त्र संघर्ष नगर्ने आंकलन धेरैले गरे पनि विप्लव माओवादी भने अवस्था अनुकूल बन्दै गएको निष्कर्षमा पुगेको छ ।

biplab 11

उसले यही विश्लेषण गर्दै सशस्त्र संघर्षको तयारीलाई भित्रभित्रै अघि बढाइरहेको छ । माओवादी स्रोतका अनुसार, विप्लव माओवादीले अहिले छापामार तालिम दिएर केही युवालाई तम्तयार अवस्थामा राखेको छ । पश्चिम नेपालका साथै देशका विभिन्न स्थानमा उसले यस्तो छापामार तालिम दिइरहेको बताइन्छ ।

झन्डै ५ हजारको हाराहारीमा उसले हतियारसहितको सेना तयार पारेको दावी स्रोतको छ । स्रोतका अनुसार, अहिले विप्लव माओवादीले आफ्ना सबै संयन्त्र आन्तरिक सैन्य विस्तारमा लगाएको छ । स्वयं विप्लव पनि यसकै लागि पछिल्ला केही महिनादेखि लागिपरेको बताइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV