
प्रधानमन्त्री केपी ओलीले पुसको अन्तिम हप्ता सबै मन्त्री र सचिवलाई बालुवाटार बोलाएर भारतसँग गर्नुपर्ने कुराको लिस्ट बनाएर पेस गर्न निर्देशन दिए । सबै मन्त्रालयले हतारहतार सपिङ लिस्ट बनाएर पेस गरे । परराष्ट्र मन्त्रालयको संयोजनमा बनेको करिब तीन सयवटा सपिङ लिस्ट प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै गायव भयो । गायव गर्ने अरु कोही थिएनन्, स्वयं प्रधानमन्त्री ओली थिए ।
ओलीले नयाँ दिल्ली जानुभन्दा दुई दिनअघि भने, ‘म सम्बन्ध विस्तारबाहेक अरु कुरा लिएर भारत जान्न । भारतसँग समझदारी बनाउने मात्रै एजेण्डा छ, सपिङ लिस्ट केही छैन ।’ ओलीले रातारात तयार गर्न लगाएको लिस्ट आफैँले कार्पेटमुनी फालेर जसरी दिल्लीधामको यात्रा गरे, समझदारी बनाउने उनको एकल एजेण्डासमेत सफल भएन । र, बलिउडका कलाकारसँग मुस्कान भरेको तस्विर खिचेर फर्कनुपरेको छ । तरुण साप्ताहिकमा खबर छ ।