१६ फाल्गुन २०७२, आईतवार

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरण र युनाइटेड मोदी जलविद्युत् कम्पनीबीच तल्लो मोदी–२ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्झौता भएको छ ।

सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरेपछि सो कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता सम्पन्न भएको यो पहिलो पटक हो । कुल १०.५ मेगावाट क्षमताको सो आयोजना तल्लो मोदी–१ को क्यासकेड आयोजनाका रुपमा रहेको छ ।

modikhola-648x400

सम्झौतामा युनाइटेड मोदी हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुधीरप्रसाद तिमिल्सिना र प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले हस्ताक्षर गर्नुभएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार प्राधिकरणले हिउँदको समयमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्नेछ ।

‘इक्वीटी’ तथा बैंकको ऋणबाट निर्माण गर्ने योजना रहेको उक्त आयोजनाबाट उत्पादित विद्युत् तल्लो मोदी–१ (१० मे.वा.) निर्माणका क्रममा कम्पनी आफैँले निर्माण गरेको १३२ केभी क्षमताको कुल ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले २०७६ साल असारमा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित स्थानीय र जनतालाई समेत सहभागी गराउने उद्देश्यअनुरुप साधारण सेयर जारी गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको विज्ञप्तिमा जनाइएको छ । विद्युत् खरिदसम्बन्धी सम्झौतामा यही फागुन १४ गते शुक्रबार हस्ताक्षर भएको हो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV