
म्याग्दी,उत्तरी म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको घलेम्दीखोला जलविद्युत आयोजनाको क्षमत्ता ५ मेगावाट बनाइएको छ । गत बैशाखमा गएको भूकम्प र पहिरोका कारण प्रस्तावित स्थानबाट विद्युतगृह सार्दा हेड २५ मिटर अग्लो भएकाले आयोजनाको क्षमता एक मेगावाट थप गरिएको हो ।
म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न दोस्रो वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष किशोर सुबेदीले क्षमता बढाउने विषयमा सम्बन्धित निकायबाट अनुमति प्राप्त भएकाले केही प्रक्रिया पुरा गर्न बाँकी रहेको बताउनुभयो । उहाँले जिल्लाबासीको सक्रियता र लगानीमा निर्माण भइरहेकाले पनि अन्य आयोजनालाई जिल्लामा प्रवेश गराउन सहयोग पुग्ने गरी निर्धारित समयमै सम्पन्न गर्ने बताउनुभयो । साधारण सभाको पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्दैं विद्युत उत्पादनको लाइसेन्स ओगटेर झोलामा हाल्नेलाई कारवाही गर्न सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने बताउनुभयो ।
करिव ७१ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाको इन्टेक र पावर हाउसबाट दैनिक दुई चरणमा सुरुङको निर्माण, सडक आवासगृह, कन्ट्रक्सन पावर लाईनको विस्तारको काम भइरहेको प्रवन्धक निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो । एक हजार पाँच सय ५० मिटर सुरुङ र १५० मिटर हेड रहेकोमा ४ सय ५० मिटर सुरूङ खन्ने काम सम्पन्न भएको छ । आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । घलेम्दीखोलाको दोभानबाट १५ सय मिटर सुरुङ मार्गबाट पानी ल्याएर निलगिरि खोलाको किनारमा निर्माण हुने पावर हाउसमा जोडिने छ ।