१६ फाल्गुन २०७२, आईतवार

काठमाडौं  : उपप्रधान तथा पररष्ट्रमन्त्री कमल थापा आउँदो फागुन २६ गते भारत जाने भएका छन्। केपी ओलीको नेतृत्वमा सरकार गठनपछि थापाको यो चौथो दिल्ली भ्रमण हुनेछ।

KAMAL-THAPA

धर्मगुरु रविशंकरले आयोजना गरेको धार्मिक सभामा भाग लिन थापा दिल्ली जान लागेका हुन्। मार्चको १० तारेख अर्थात फागुन २७ गते दिल्लीमा हुने धार्मिक सभामा ३५ लाख भन्दा बढी मानिसहरु सहभागी हुने प्रचार गरिएको छ।

थापा यसअघि सरकार गठन भएको ५ दिनमै ३० असोजमा नाकाबन्दीका विषयमा छलफल गर्न भारत पुगेका थिए। तर थापाको भारत भ्रमण त्यतिबेला प्रभावहीन बनेको थियो।

लगत्तै धर्मगुरु रविशंकरको निम्तोमा थापा भारत पुगेका थिए। यसअघि गत १४ मंसिरमा भारतको नेपालमा नाकाबन्दी जारी रहँदा समेत थापाले ‘ट्य्राक टू डिप्लोपेसी’ अपनाउँदै भारतमा कुटनीतिक प्रभाब  देखाएका थिए।

उनले रविशंकरकै सहायतामा दिल्लीमा विदेश मन्त्री सुष्मा स्वराजसँग मधेस आन्दोलन समाधानका लागि तीन बुँदे ‘नन पेपर अग्रिमेन्ट’ गरेका थिए। ७ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत थापा दिल्ली पुगेका थिए।

थापाका प्रेस तथा जनसम्पर्क सल्लाहकार मोहन श्रेष्ठले भ्रमण हुन लागेको पुष्टि गरे। ‘यो भ्रमण दुई महिना अघि नै तय भएको थियो, यो कुनै आकस्मिक होइन’, श्रेष्ठले पहिलोपोस्टसित भने।

बाँकी छन् भारतसँग विषय

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा संयुक्त विज्ञप्ती जारी हुन सकेन। भारतले संयुक्त विज्ञप्तीमा संविधानको स्वागत गर्न नमानेपछि नेपाल भारत सम्बन्ध सुदृढ हुन नसकेको छरपस्ट भयो।

भारतले नेपाललाई मागे बमोजिमको इन्धन अझै उपलब्ध गराएको छैन। जसका कारण पेट्रोलियम अभाव कायम छ। परराष्ट्र मन्त्री समेत रहेका थापाको भ्रमणका दौरान यी विषयमा कुराकानी हुन सक्ने देखिन्छ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान महत्वपूर्ण उपलब्धी भएपनि सबै पक्षको भावना समेट्नुपर्ने भन्दै संविधानलाई पूर्ण रुपमा स्वागत नगरेको संकेत दिएका थिए।

राष्ट्रपतिलाई निम्तो

रविशंकरको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत निम्तो दिइएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार मावध शर्माले पहिलोपोस्टसँग भने – ‘निम्तो आएको हो तर अहिले यसमा केही छैन, सामान्य प्राविधिक कुरा समेत भएको छैन।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री थापाको भ्रमणबारे मन्त्रालयमा जानकारी नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV