१६ फाल्गुन २०७२, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेज र नर्सिङ कलेजहरु हचुवाका भरमा जहाँ पनि खोल्न नहुने बताएका छन् । ललितपुर स्टाफ कलेजमा ‘संघिय नेपालको नयाँ शिक्षाका लागि राष्ट्रिय शिक्षा आयोग विषयक एक दिने राष्ट्रिय कार्यशाला’मा प्रधानमन्त्री ओलीले पसल खोलेजस्तो नाफाघाटा हेरेर मेडिकल र नर्सिङ कलेज नचल्ने बताएका हुन् । ‘देशलाई अवश्यक पर्ने जनशिक्त कति हो भन्ने एकिन गरेर कलेजहरु खोल्नुपर्छ,’ उनले भने, ‘एउटाले पसलमा नाफा गर्यो भन्दैमा नजिकै अर्कोले पनि खोल्ने गरेझँै होइन मेडिकल कलेज र नर्सिङ कलेज खोल्नु भनेको ।’ उनले देशमा कति डाक्टर तथा नर्सहरुको आवश्यकता रहेको छ भन्ने अध्ययन गरेर आवश्यक पर्ने स्थानमा मात्र कलेज खोल्नु पर्ने बताए ।

kp-Oli-21

कार्यक्रममा प्रधानमन्त्री ओलीले नाफा आउने स्थानमा मात्र निजी सञ्चालकहरु केन्द्रित भएको आरोप लगाए । ‘नाफा आउने ठाँउमा मात्र निजी कलेजहरु खुलेको खुलै गर्ने’ उनले भने, ‘अनि दुर्गम तथा नाफा नआउने क्षेत्रमा मात्र सरकार जाने अवस्था हुनुहुन्न । निजीले नाफा नआउने क्षेत्रमा पनि जाने आँट गर्नुपर्छ ।’ उनले आवश्यकताको पहिचान गरेर मात्र कलेज सञ्चालनको लागि काम अगाडी बढाउन आवश्यक रहेको बताए । मेडिकल कलेजका विषयमा अहिले आइरहेको विवादका विषयमा आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले विवादको अन्त्य गर्न तर्फ विज्ञलाई सुझाब दिए ।

‘मेडिकल कलेजका विषयमा विवाद छ,’ उनले भने, ‘तर के विवाद हो बुझ्न सकेको छैन ।’ उनले सुगाले जस्तो यो मेडिकल कलेज खोल भनेर खाम दिएझैँ मेडिकल तथा नर्सिङ कलेज सञ्चालनको स्विकृती दिन नहुने कुरामा जोड दिए । नेपाल संघियतामा गएपछि क्षेत्रीय दबाबका भरमा कलेज खोल्न नहुने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकताको पहिचान गर्न आग्रह गरे । ‘दबाबका भरमा कलेज खोल्नु हुँदैन । त्यसरी खोलेका कलेज चल्दैनन् पनि’ उनले भने, ‘जनसंख्या र भुगोलका आधारमा कहाँ कति कलेज खोल्ने हो यकिन हुन पर्छ ।’ प्रधानमन्त्री ओलीले एउटै विषयमा लक्षित कलेज पनि धेरै खोल्न नहुने बताए । ‘धेरै मानिसहरुले एनेस्थेसिया विषय मात्र पढ्ने र त्यही विषय पढाउने कलेज मात्र भयो भने के होला ?’ उनले भने, ‘त्यसकारण कलेजसँगै विषयगत कुराहरुमा पनि ध्यान दिन आवश्यक छ ।’

 

LIVE TV