
ललितपुर, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भूकम्पपछिको पुनःनिर्माण महाअभियानसँगै देशलाई नयाँ नेपाल बनाउनु सरकारको एकमात्र उद्देश्य भएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय तामाङ घेदुङले सोनाम ल्होछार २८५२ टे मागार(बाँदर) वर्षको अवसर पारेर आज गोदावरीमा गरिएको बृहत् शुभकामना तथा वनभोज कार्यक्रमको उद्घाटन गर्दै उहाँले वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त पारेका संरचनाको पुनःनिर्माण कार्यमा सरकारले आवश्यक सहयोग गर्दै यसैबाट नयाँ नेपाल बनाउनसक्ने धारणा व्यक्त गर्नुभयो ।
सोनाम ल्होछार तामाङ समुदायको मात्र नभएर राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्नेमा उहाँको जोड रहेको थियो । उहाँले देशका विभिन्न क्षेत्रमा रहेका जातजाति, वर्ग, धर्मलगायतको खाडललाई संविधानले समाधान गरेको बताउनुभयो ।
संविधानमा लेखिएका आफ्ना अधिकारलाई सुनिश्चित गर्दै यसको कार्यान्वयनमा सबै समुदायबाट पहल गरिनु जरुरी रहेको उहाँको तर्क छ । उहाँले संविधानले सबै वर्गको पहिचान र मौलिक अधिकारलाई सुनिश्चित गरिएको बताउनुभयो ।
उहाँले तामाङ समुदायलाई राष्ट्रनिर्माणका क्रममा एक अभिन्न अङ्गका रुपमा उभिन पनि आग्रह गर्नुभयो । नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले सबै वर्ग समुदायको पहिचानलाई समेट्ने गरी साझा सांस्कृतिक नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ल्होछार सहरमुखी मात्र नभई घरघरमा मनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा मन्त्री राईले हालैमात्र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा नवनिर्वाचित अध्यक्ष नवीना लामा तथा सचिव आरती लामालाई सम्मान तथा प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो ।
यसैगरी, २०१६ का मिस तामाङ उर्मिला योञ्जन, प्रथम रनरअप सम्झना थोक्कर र सेकेन्ड रनरअप शिक्षा योञ्जनलाई पनि सम्मान गर्नुभएको थियो । रासस