१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा शनिबार दुई जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
शुक्रबारसम्म ६२ जिल्ला अधिवेशन सम्पन्न भएकामा शनिबार थप दुई जिल्लाको अधिवेशन सम्पन्न भएको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । अधिवेशनबाट भक्तपुरमा दुर्लभ थापा र बारामा जयचन्द्र चौरसिया जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ ।

अहिलेसम्म ७५ जिल्लामध्ये ६४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । भक्तपुरमा यसअघि भएको अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि आज दोस्रो चरणमा निर्वाचन भएको हो । निर्वाचनमा थापाले २५४ र निकटतम प्रतिद्वन्द्वी अष्ट कवेले १९८ मत प्राप्त गर्नुभएको थियो ।

पहिलो चरणमा थापा, कवेसँगै गणेशमान चक्रधर र राजाराम खड्का पनि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । निर्वाचनमा जिल्लाका भक्तपुर, मध्यपुरथिमि, नगरकोट, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र चाँगुनारायण गरी छ नगरपालिकाका ९३ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको सहभागिता थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV