१५ फाल्गुन २०७२, शनिबार

काठमाडौं महानगरपालिकाले समुदायमा आधारित सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ ।

काठमाडौँ सहरलाई उज्यालो बनाउनका लागि भन्दै महानगरले त्यस्तो कार्यविधि अघि बढाएको हो ।

light

विद्युत्भार कटौतीको समयमा राजधानी सहर पूर्णतः अँध्यारो भएको भन्दै उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको महानगरका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले जानकारी दिए  । “साँझ पनि व्यापार, व्यवसाय तथा मनोरञ्जनका कार्यक्रम हुने भएकाले सौर्यबत्ती जडान गर्न लागिएको हो,” उनले भने, –“त्यसमा पनि राजधानी त सर्धँ उज्यालो हुनुपर्छ भन्ने मान्यता छ ।”

यसरी जडान गर्न लागिएको सौर्य बत्तीका लागि उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था व्यक्तिगत प्रयोजनको लागि जडान गरिने सौर्य प्रणालीका लागि मात्रै उपलब्ध गराइने छ ।

त्यसैगरी कुनै विद्यालय, अस्पताल, सार्वजनिक सङ्घ संस्था, सेवामूलक क्षेत्रलगायतले संस्थागतरुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्ने छ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ ।

प्रमुख रेग्मीका अनुसार एउटा सौर्य बत्ती जडान गर्न पोलसमेत गरी रु एक लाखसम्म लगानी लाग्ने छ । अहिले बत्ती राख्नका लागि निवेदन आह्वान गरिएको छ । आइतबारदेखिनै निवेदन सङ्कलनको काम हुने महानगरले जनाएको छ ।

आवदेनअनुसार मात्रै कुन स्थानमा कति बत्ती जडान गर्ने, संस्थागत र व्यक्तिगसँगै लागतसमेतको आँकलन हुने प्रमुख रेग्मीले बताए। अठारौँं दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलनका समयमा पनि नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली, पुरानो बसपार्कलगायत स्थानमा सौर्य प्रणाली जडान गरिएको थियो ।

त्यतिबेला जडान भएका प्रणाली मर्मत सम्भारको अभावमा केही बिग्रिएका छन् भने कतिपय स्थानमा चालु अवस्थामा रहेका छन् । महानगरले विगतमा जडान गरिएका सौर्य प्रणालीको मर्मत सम्भारमा समेत ध्यान दिने जनाएको छ ।

सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न रु १० करोडको लगानी गरेको थियो । त्यसबेला १५० वटा सौर्य प्रणाली जडान भएका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV