
झापा, झापाको पृथ्वीनगरमा आज बिहान छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पृथ्वीनगर–६ निवासी १७ वर्षीय राजन मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै सोही ठाउँका १९ वर्षीय सञ्जय लिम्बू र १८ वर्षीय सञ्जय उराउ छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् ।
पृथ्वीनगर– ६ मा रहेको कृष्ण सुब्बाको चिया बगानको टहरामा सुतेका उनीहरुमाथि आफ्नै साथी सोही ठाउँका २० वर्षीय कालु भनिने सञ्जोग लिम्बूसहितले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले लिम्बूसहित चारजना युवाले उनीहरुमाथि सामान्य विवादमा छुरा प्रहार गरेर भागेकाले उनीहरुको खोजी कार्य भइरहेको बताउनुभयो ।
छुरा प्रहारमा संलग्न सञ्जोग लिम्बूलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मगरलाई शरीरका विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको र बाँकी दुई जनालाई घाँटी र छातीमा छुरा प्रहार भएको बताइएको छ ।
घाइते दुबैको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस