
– विमल नेपाल
हत्यारा खुलेयाम हिड्छ, तर धुम्रपान गर्नेहरुलाई पुलिसले पक्रन्छ यहाँ । धुम्रपान गर्दाको भन्दा हजार गुणाबढी प्रदुशित हावा कोचाइन्छ र नागरिकस्वास्थ्यप्रति खुब जिम्मेवार भएको देखाउँछ सरकार । नदीमा ढल मिसाउँछ, सार्वजनिक शौचालय बनाउँदैन अनि सार्वजनिक स्थलमा पिसाब फेर्यो भनेर हिरासतमा राख्छ पुलिस ।
नौजवानलाई विदेश पठाएर रेमिट्यान्समा मख्ख पर्छ, विदेशबाट बाकसमा आएको नौजवानको लाश पोल्न इलेक्ट्रोकिन मेसिन बनाएर हल्ला पिट्छ । भएको पानी बेचेर महङ्गोमा विजुली किन्छ । जडिबुटी बेचेर तेस्रो वर्गको औषधि महङ्गोमा किन्छ । प्रेम गर्नेहरुलाई पार्कबाट थुतेर जेल हाल्छ । जागिर दिँदैन, अनि अपराध बढ्यो भनेर चिन्ता गर्छ ।
कहिले कपाल पाल्यो भनेर नागरिकको कपाल काट्दै हिँड्छ, कहिले केटीले पाइन्ट लगाउँन पाइदैन भनेर हौवा फिँजाउँछ । कस्तो देश, जहाँ आफ्नो कपाल पाल्न नपाइने, मन परेको कपडा लगाउँन नपाईने । कपाल खौरिएका पण्डितहरु चरेश तस्कर गर्छन् । मन्दिरका पुजारीहरु बलात्कार गर्छन् । नेताहरु देश र स्वाभिमानलाई दाउमा राखेर सत्ताको जुवा खेल्छन् । पुलिसहरु हप्तैपिच्चछे घुससहीत रंगेहात फेला पर्छन् ।
नागरिकहरु भोकभोकै ‘अघौजी खाने’ सपना साँचेर तड्पिरहेका छन्, सरकार राजकीय भ्रमणमा दंग पर्छ । नाकाबन्दी गर्नेसँग सम्बन्ध सुधार्नमा चिन्ता गर्छ । खेलाडीहरु म्याचफिक्सिङ गर्छन्, नेताहरु देश फिक्सिङ, कर्मचारीहरु सेवा फिक्सिङ । डक्टरहरु हेल्थ फिक्सिङ । शिक्षकहरु पढाई फिक्सिङ । सबैसबै पचेकै छ । तर, अहिले फेरि चुरोट पिउँन निषेध गरेर साँखिलो पल्टदैछ, सरकार ।
यो सबको अर्थ यो होइन कि, धुम्रपान गर्नु राम्रो हो । जहाँ पनि धुम्रपान गर्न पाउँनु पर्छ । सबाल यो हो कि, महत्वपूर्ण कुरा विर्सिएर गौणलाई प्रधान र प्रधानलाई गौण पारिदैछ । धुम्रपानले नागरिक स्वास्थ्यमा असर गर्छ भने धुम्रपान कम्पनी नै बन्द गर्ने हुत्ति कि राख्दैन सरकार ! बढी राजश्व आउँछ भन्दैमा विष कम्पनीलाई किन प्रोत्साहन गर्छ सरकार । –धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ ।