१३ फाल्गुन २०७२, बिहीबार

सुनसरी,नेपालमै पहिलो पटक सुनसरीको धरानमा दलित समुदायका वटुकहरु सहितको सामूहिक ब्रतबन्ध गराइएको छ । धार्मिक रुपमा दलित समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्ने उद्देश्यले ब्राह्मण सेवा समाज धरान उपमहानगर समितिले धरानका ४ जना दलित  युवाहरुलाई पनि सामूहिक रुपमा व्रतबन्धमा सहभागी गराएको हो  ।

samuhik-bratabandha

उत्पीडित दलित समुदायहरु हिन्दु धर्मकै अनुयायी हुन् । उनीहरुको सामाजिक रहनसहनका हरेक पक्ष हिन्दु धर्मका संस्कार र परम्परामा निहीत छन् । जन्मदेखि मृत्युसम्मका हरेक रीतिथिति, विधिविधान आर्य संस्कृतिसँग सम्बद्ध छन् ।

धरानमा नेपालकै पहिलो पटक ब्राह्मण समाजले आयोजना गरेको सामुहिक ब्रतबन्धमा दलित समुदायलाई सहभागी गराइएको छ । समाजले आयोजना गरेको यस वर्षको सामुहिक व्रतबन्धमा धरानका दलित समुदायको पनि सहभागिता भए पछि ब्राह्मण र दलित समुदायको अन्तरघुलन हुन थालेको अनुभुति हुन थालेको छ ।

फागुन १३ गते धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा समाजले आयोजना गरेको निशुल्क व्रतबन्धमा धरानका प्रियन विश्वकर्मा, पिन्चु विश्वकर्मा, सन्जोग परियार र सौगात विश्वकर्मा सहभागि भएका हुन् । धरान लगायत विभिन्न क्षेत्रबाट आएका ४१ जना बटुकहरुसंगै दलित समुदायका ४ जनाले पनि ब्रतबन्ध गराएका थिए । परम्परा देखि नै संस्कार गर्दै आएका सबै जातजातिहरुलाई सामुहिक ब्रतबन्धमा सहभागि गराईएको समाजका अध्यक्ष उद्धवप्रसाद अधिकारीले बताउनुभयो ।

सामुहिक ब्रतबन्धमा अन्य बटुक सरह एकै स्थानमा ब्रतबन्ध गर्नुका साथै बटुकसंग आएका उनका आफन्तहरु पनि सामुहिक भोजनमा सहभागि भएका थिए । दलित उत्थान समन्वय समिति धरानको पहलमा दलित समुदायका बटुकहरुले सामूहिक ब्रतबन्धमा सहभागि जनाएका हुन् । यसका लागि सम्पूर्ण खर्च समितिले व्यहोरेको छ । समावेशी सामूहिक ब्रतबन्धले दलित समुदायमाथि हुने गरेका धार्मिक अपहेलना विरुद्धको सकारात्मक पहल भएको दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदामले बताउँनुभयो ।

संविधानले छुवाछुत गर्न नपाईने भनि प्रष्ट रुपमा उल्लेख गरेपनि अझै पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । ब्राह्मण समुदायलाई पनि दलित समुदायलाई आर्य जातिसंग अन्तरघुलन गर्न अभियान संचालन गरे पनि समाजलाई स्वीकार्य बनाउन चुनौतीपूर्ण छ । तर समाजले आयोजना गरेको ब्रतबन्धमा भने कुनै पनि चुनौती नआएको र आए पनि सामना गर्ने  पण्डित हरिप्रसाद पौडेलले बताउनुभयो ।

समाजले थालनी गरेको समावेशी कार्याक्रमले नेपाली समाजमा अन्त्यन्तै सकारात्मक संन्देश दिएको छ । यसबाट धरान उपमहानगरपालिकाले २ वर्ष अघिदेखि धरानलाई विभेदमुक्त शहर बनाउन शुरु गरेको अभियानलाई थप प्रभावकारी बनाइदिएको छ ।

 

LIVE TV