१३ फाल्गुन २०७२, बिहीबार

काठमाडौं – पछिल्लो समय आफूलार्ई नेपालको एकमात्र सुरक्षित एयरलाईन्स कम्पनी भएको दाबी गर्दै आएको यति एयरलाईन्स र त्यसको भगिनी संस्था तारा एयरलाईन्स अत्यन्तै असुरक्षित रहेको घटनाक्रमले पुष्टि गरेको छ ।

 

tara air

समयमा मर्मतसम्भार नगर्ने र कवाडीमा खरिद गरेका दशकौँ पुराना विमानहरु सञ्चालन गर्दै आइरहेको यति र तारा एयरलाईन्सको लापरबाहीको कारण हालसम्म ७६ जना निर्दोष यात्रु तथा चालक दलका सदस्यहरुले अकालमा ज्यान गुमाउनुपरेको तथ्यांकले देखाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बद्ध स्रोतका अनुसार यति एयरलाईन्सले पुराना जहाज र नेपाल एयरलाईन्ससँग कवाडीको मूल्यमा खरिद गरिएको जहाजलाई मर्मतसम्भार तथा रंगरोगन गरेर नयाँजस्तै बनाएर उडान भर्दै यात्रुको जीवनमाथि खेलबाड गर्दै आएको छ ।

तारा तथा यतिमा सबै विमान पुरानो भएको र पटक–पटक दुर्घटना भएको कारण यात्रुहरुको संख्या घट्दै गएपछि यात्रुहरुको आँखामा छारो हाल्ने उद्देश्यले करिब छ महिनाअगाडि तारा एयरको लागि ७० करोड रुपैयाँमा खरिद गरी भित्र्याएको क्यानडामा निर्मित भाइकिङ डोर्निएर भीएचसी६–४०० सिरिजको अत्याधुनिक दाबी गरिएको विमान समेत सोमबार बिहान दुर्घटनामा परेपछि तारा एयर र यति एयरलाइन्सको उडान सुरक्षामा गम्भीर प्रश्न उठेको छ । सोमबार बिहान पोखरा विमानस्थलबाट जोमसोमको लागि बिहान ०७ः५० बजे उडेको कलसाइन ९एच–एएचएचको तारा एयरको ट्विनअटर विमान उडेको १० मिनेटमै म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा वरिष्ठ पाइलट रोशन मानन्धर, को–पाइलट डिकेस नेमकुल र परिचारिका रोमा राउतसहित सबै यात्रुको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउने यात्रुहरुमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, पाकिस्तानी नागरिक रहसिद अहमद, रेवती बराल, विनिता भट्टचन, बालकृष्ण निउरे, मुक्तिनाथ बाँस्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन, मोतीबहादुर केसी, चिनियाँ नागरिक म्याक्सु वाइन्जी र दुई जना शिशु रहेको प्रहरीले जनाएको छ । उसो त केही समयअघि उडान नै अयोग्य भनेर सिफारिस गरिएको जहाज ‘सेटिङ’मा दर्ता गरेर उडान भर्दै आएको तारा एयर विश्वकै असुरक्षित विमान कम्पनीको रुपमा अन्तर्राष्ट्रिय एजेन्सीले सूचीकृत गरेको थियो । अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’नामक वेबसाइटले विश्वभरका सबै हवाई कम्पनीको वर्तमान अवस्था सार्वजनिक गर्दै तारा एयरलाइन्सलार्ई विश्वकै असुरक्षित चार हवाई कम्पनीको सूचीमा समावेश गरिसकेको थियो ।

सो वेबसाइटले नेपालको तारा एयरलार्ई पुराना जहाज तथा बढी दुर्घटनाको कारण मानवीय क्षति हुने जहाज भन्दै असुरक्षित हवाई कम्पनीको रुपमा ‘दर्ज’ गरेको थियो । काठमाडौं, नेपालगञ्ज, सुर्खेत र पोखरा विमानस्थललार्ई मुख्य हब बनाएर हिमाली जिल्लाहरुमा उडान भर्दै आएको तारा एयर नेपालमा सबैभन्दा बढी दुर्घटना हुने, अधिकांश जहाजहरुको इन्जिनको बीमा नहुने तथा जहाज र यात्रुको मात्रै बीमा हुने गरेको खुल्न आएको विषयमा आर्थिक दैनिकले केही महिनाअगाडि समाचार प्रकाशित गरेको थियो ।

नेपालको हवाई माफियाको रुपमा परिचित आङछिरिङ शेर्पा मालिक रहेको यति र यतिको भगिनी संस्था तारा एयर नेपालको हवाई क्षेत्रमा सबैभन्दा असुरक्षित हवाई कम्पनी रहेको स्रोतको दाबी छ । यति एयरलाइन्सको विमान सन् २००४ मा लमजुङमा दुर्घटना हुँदा तीन जना, २००६ मा जुम्लामा भएको दुर्घटनामा नौ जना र २००६ मा लुक्लामा भएको दुर्घटनामा १९ जनाको ज्यान गइसकेको छ । त्यस्तै तारा एयरको विमान सन् २०१० मा ओखलढुंगामा भएको दुर्घटनामा २२ जना र हिजो फागुन १२ गते म्याग्दीमा भएको दुर्घटनामा २३ जनाले गरी हालसम्म जम्मा ७६ जनाको ज्यान गइसकेको तथ्यांकले नै पुष्टि गर्छ । घटनाक्रमले नेपालको हवाई दुर्घटनाको इतिहासमा यति र तारा एयरलाइन्सको अत्यन्तै नराम्रो रेकर्ड कायम भएको छ ।

तारा एयरको जहाज सन् २०१० मे २३ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो । १८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो । त्यस्तै २०६९ सालमा जहाजको नोज गियर लक भएकाले पोखरा विमानस्थलमा यती एअरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।

सोही कारण यात्रुहरुले सुगम क्षेत्रमा यतिको विकल्प खोजेपछि यति एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रुहरुको संख्या कम हँुदै गएको छ । सोमबार दुर्घटना भएको जहाजबाहेक तीनवटा डोर्निएर र पाँचवटा ट्विनअटर जहाजबाट हवाई सेवा सञ्चालन गरिरहेको तारा एयरका सबै जहाज ४० वर्ष पुराना रहेको स्रोत बताउँछ ।

सन् २००९ मा स्थापना भएको तारा एयर छोटो अवधिमै ठूला दुर्घटनापछि हवाई उड्डयनको क्षेत्रमा विश्वकै सबैभन्दा खतरायुक्त हवाई कम्पनीको रेकर्ड कायम गरिसकेको छ । जेटस्ट्रिम जहाजबाट उडान भर्दै आएको यति एयरलाइन्ससँग २९ सिट क्षमताका सातवटा कवाडी जहाज रहेका छन् । विश्वकै असुरक्षित जहाज कम्पनीमा नेपालका दुई तारा र नेपाल एयरलाइन्ससहित काजकिस्तानको स्कट एयरलाइन्स र अफगानिस्तानको काए एयरलाइन्स छन् । यति र तारा एयरले थोत्रा विमान उडाएर यात्रुको जीवन जोखिममा पार्दा पनि सम्बन्धित निकाय भने मौन देखिएका छन् ।

कवाडी जहाजको भरमा यात्रुको ज्यान जोखिममा पारेर पैसा कमाउन सक्रिय यति र तारा एयरलाइन्सका मालिक शेर्पाको अगाडि सरोकारवाला निकायहरु आवश्यक कानुनी कारबाहीको प्रक्रियामा नगई नतमस्तक देखिनुलार्ई निकै अर्थपूर्ण रुपमा लिन सकिन्छ ।  आर्थिक दैनिकमा मदन भण्डारीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV