१२ फाल्गुन २०७२, बुधबार

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज म्याग्दीमा दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २३ यात्रुको मृत्यु भएको छ । चालक दलमा पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत थिए । रमा तीन वर्षदेखि तारा एयरमा एयर होस्टेजका रूपमा कार्यरत थिइन् । काठमाडौं कुलेश्वरकी २६ वर्षे रमाको बाबुको निधन भइसकेको छ । उनकी ५० वर्षीया आमा गीता, एक दाजु र एक भाइ छन् । दाजु पदम मेगा बैंकमा काम गर्छन् भने भाइ प्रमोद नेपाल प्रहरीमा असइ छन् । प्रमोदले बिहान १० बजे मात्र जहाज दुर्घटनाको खबर पाएका थिए । दुर्घटनाको खबर सुने पछि आमा गीता मुर्छित भएकी छिन् । रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन् । उनले मंगलबार साँझ आमालाई फोन गरेर बुधवार जोमसोम जाने’ जानकारी दिएकी थिइन् ।
विमानको एयर होस्टेज भएपछि रमाले आमालाई सबैतिर घुमाउने बताएकी थिइन् । आमालाई घुमाउने उनको सपना विमान दुर्घट्नासंगै बिलाएको छ ।

LIVE TV