१२ फाल्गुन २०७२, बुधबार

काठमाडौँ, आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा धादिङमा रहेका तीन ग्यास उद्योगमा आज अनुगमन गरिएको छ ।

अनुगमन टोलीले उद्योगमा पुराना र असुरक्षित ग्यास सिलिन्डर प्रयोग भएको भेट्टाएपछि सिद्धार्थ ग्यासका ८०६ वटा सिलिन्डर सिल गरेको छ ।

ganeshman pun

त्यसैगरी, सुगम ग्यासको उद्योगमा सुरक्षाका लागि पानी भण्डारण गर्ने स्थल मर्मत नभएको तथा अन्य ग्यास उद्योगको खाली सिलिन्डर नाम परिवर्तन गरी आफ्नो नाम लेखेको भेटिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

एपी ग्यासका भरिएका सिलिन्डर भण्डारणमा रहेकाले तत्काल बजारमा पठाउन निर्देशन गरेको टोलीमा संलग्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

ती उद्योगमा सुरक्षाका लागि राखिने ‘हाइड्रोलिक टेस्ट’ जडान नभएको तथा आवश्यक मर्मत सम्भार नभएको अवस्थामा भेटिएका थिए ।

सोही टोलीले नेपाल आयल निगमको थानकोट डिपोको अनुगमन गरी भण्डारण क्षमता बढाउन र इन्धन भर्ने ‘टोपिङ मेसिन’ मर्मत गरी पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

मन्त्री पुनले अनुगमनलाई निरन्तरता दिइने र पेट्रोलियम पदार्थको कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने बताउनुभएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । रासस

 

LIVE TV