११ फाल्गुन २०७२, मंगलवार

बेरुत, सिरियामा आगामी शनिबारदेखि लागू हुनेगरी युद्धविरामको प्रस्ताव गरिएको समाचार छ । आगामी शनिबारदेखि युद्धविरामका लागि सरकार र विद्रोही पक्षलाई सो प्रस्ताव गरिएको हो ।

संयुक्त राज्य अमेरिका र रसियाले सो प्रस्ताव गरेका बताइएको छ । प्राप्त समाचारअनुसार यसअघि देखि नै यी दुई देशले सिरियामा शान्ति स्थापनाका लागि पहल गरेका र सोही प्रयोजनका लागि युद्धविराम प्रस्ताव गरिएको हो ।

siriya-720x480
तर यस विषयमा सिरियाली सरकार र विपक्षीका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन । यस प्रस्तावले सिरियामा आतङ्ककारी क्रियाकलाप मच्चाउदै आएका इस्लामिक स्टेट्स र अल नुस्रा फन्टका बारेमा भने केही बोलेको छैन ।
विश्लेषकहरुले सिरियामा आइएसको आतङ्क जारी नै रहेको र भूमिगत संगठनका रुपमा आतङ्क मच्चाएका यी संगठनका कारण भने हिंसा नरोकिन सक्ने जनाएका छन् ।
यसका साथै सिरियामा गएको पाँच वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरुले पनि यस युद्धविरामका लागि शर्त अघि सारेका छन् ।

Siriya
सिरियाली राजधानी दमासकसमा भएका शृंखलाबद्ध आक्रमणहरुमा परी कम्तीमा पनि १३४ जना विशेषगरी सर्वधारणको ज्यान गएको एक दिनपछि सिरियामा यो युद्धविरामको प्रस्ताव आएको छ ।
संयुक्त राज्य अमेरिका र रसियाद्वारा जारी विज्ञप्तिमा आगामी शुक्रबारको मध्यरातिदेखि सिरियामा युद्धविराम सुरुहुने जनाएका छन् ।
यस समाचारप्रति सिरियाली सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । साथै विपक्षीहरुका तर्फबाट पनि स्पष्ट रुपमा कुनै सङ्केत नआएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
अमेरिका र रसियाले यस युद्धविरामलाई सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको एक पहलका रुपमा लिएका छन् ।
उनीहरुले यदि रसियामा यस प्रस्तावित युद्धविराम सम्भव अथवा लागू भयो भने यसले त्यहाँ अप्ठेरोमा बाँचिरहेका नागरिकलाई खाद्यान्न लगायतको अत्यावश्यकीय वस्तुको आपूर्तिका लागि सहयोग पुग्ने पनि बताएका छन् ।
दुईहप्तामात्र अघि जर्मनीमा भएको विश्वका विभिन्न देशका गृहमन्त्रीहरुको बैठकमा सिरियामा शान्ति स्थापनाका लागि दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गर्ने सहमति भएको थियो । सोही कार्यक्रमबमोजिम यी दुई देशको पहलमा यो प्रस्ताव आएको हो ।
तर यसअघि जेनेभामा साउदी अरेबियाको समन्वय र राष्ट्रसंघको समध्यस्थतामा भएको शान्ति वार्ता भने सफल हुन सकेको थिएन ।

सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा जारी नै रहेको छ । त्यहाँको गृहयुद्धमा परी दुई लाख ६० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको छ ।

त्यस अघि पनि त्यहाँ शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ, साउदी अरेबियालगायतले निकै प्रयास गर्दै आएका छन् । तर सो प्रयास सार्थक हुन सकिरहेको छैन ।

यस पटकको यो युद्धविराम विपक्षी तथा सरकारी सेनाकै तर्फबाट पालना होला र सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि शान्तिको सार्थक प्रयास सफल होला भन्नेमा धेरैको आशङ्का नै रहेको बताइन्छ । रासस

 

LIVE TV