
काठमाडौँ,नयाँ शक्तिले शुभेच्छुक र उद्योगी व्यवसायीसँग ५० हजार रुपैयाँभन्दा बढी चन्दा नउठाउने निर्णय गरेको छ।
नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् अन्र्तगतको सचिवालयको सोमबार बसेको बैठकले कार्यकर्ताहरुको लेबीलाई नै पार्टी संचालनको मुख्य आधार बनाउने तथा शुभेच्छुकहरुसँग ५० हजार रुपैयाँभन्दा बढीका दरले चन्दा नउठाउने निर्णय गरेको हो।
एउटै उद्योगी व्यवसायीसँग करोडौं रुपैयाँसम्म चन्दा उठाउने प्रवृत्तिका कारण राजनीतिक दलहरुले व्यवसायीको माग अनुसारको कानून बनाउन भूमिका खेल्ने गरेको र आर्थिक अपारदर्शिता मौलाएको निष्कर्षसहित नयाँ शक्तिले स्वेच्छाले दिने चन्दामा ५० हजार रुपैयाँको सिलिङ तोक्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।
नयाँ शक्तिले आफ्ना सबै विभागहरुका लागि दुई महिने कार्ययोजना बनाउने अन्तिम तयारी गरेको छ। नयाँ शक्तिमा ३० वटा विभाग रहेकामा सबै विभागका प्रमुखहरुले नीति, २ महिने कार्ययोजना र दीर्घकालीन योजनाको मस्यौदा पेश गरिसकेको प्रवक्ता देवकोटाले जानकारी दिए।