
काठमाडौँ,एकीकृत नेकाप माओवादी यतिखेर आफ्नो इतिहासको सवैभन्दा जटिल अवस्थावाट गुज्रिरहेको छ । राजनीतिक, बैचारिक एवं व्यवहारिक सवै ढङ्गवाट विचलित अवस्थामा छ एकीकृत माओवादी । कुनै वेला जनजीविकाका मुद्यालाई केन्द्रमा राख्ने यो पार्टीवाट विकासको सन्दर्भमा जनतानै त्रसित हुनेपर्ने विडम्वना छ । वर्तमान सरकारलाई बलियो बनाउँनुपर्ने स्थितिमा सरकार परिवर्तनसम्मका वहस हुन थालेका छन् यो पार्टीभित्र । आखिर किन अति अस्थिर र विचलित छ त एकीकृत माओवादी ?
एकीकृत माओवादीको स्थायी समिति बैठकमा सरकारवाट वाहिरिनु पर्ने स्वर चर्कोरुपमा प्रस्ततु भयो । सरकार गठन भएको पाँच महिनापनि नपुग्दै केपी शर्मा ओली नेतृत्व सरकारको एकमात्र बलियो आधार एकीकृत माओवादीभित्र सरकार परिवर्तनको स्वर प्रवल हुँदै जानु डरलाग्दो संकेत हो । चाँडै सरकार परिवर्तनले मुलुकमा अस्थिरता बढाएको यर्थाथ हुँदाहुँदै के आधार र स्वार्थले एकीकृत माओवादीभित्र सरकार परिवर्तनको विषय केन्द्रमा रह्यो गम्भीर मात्र होईन रहस्हमय छ ।
एकीकृत माओवादी पार्टी पछिल्लो पटक यसका अस्थिर एवं विरोधाभाष निर्णय र गतिविधिका कारण सवैतिरवाट आलोचनाको तारो बनेको छ । त्यसमाथि अध्यक्ष पुष्पकमल दाहालले आफुलाई जिम्मेवार र विश्वसनीय नेताकोरुपमा सामान्यरुपमा प्रस्तुत गर्न सकेका छैनन् । उनीप्रति आम जनतामा चर्को आक्रोश छ । सरकारलाई बलियो बनाएर मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनमा योगदान गर्नु पर्नेमा त्यसतर्फ एकीकृत माओवादी रत्तिभर जिम्मेवार भएको पाईदैन् । आफै सरकारका रहेर सरकारकै आलोचनामा उत्रिनु सभ्य राजनीति र परिपक्वता हुनै सक्दैन् ।
नेपालको नयाँ संविधानले पनि घुमाउरो पाराले चाँडो सरकार परिवर्तनलाई अस्विकृत गरेको छ केही झिना प्रावधानहरु राखेर भएपनि । संविधानविद्हरु संविधानको भावनालाई आत्मसाथ गर्ने हो भने राजनीतिक दलहरुले कम्तिमा पनि दुई बर्ष सरकार परिवर्तनको कुरा गर्नु बेईमानी हुने तर्क गर्दछन् । एकीकृत माओवादीभित्र जनगुनासा चर्का छन् । दश बर्ष सशस्त्र संर्घष गरेको पार्टी अहिले आएर राष्ट्रियता, जनजीविका र सामाजिक तथा आर्थिक रुपान्तरणको क्षेत्रमा अत्यन्त कमजोरमात्र नभई विलखवन्द नै देखिएको छ । आफुलाई परिवर्तनकारी शक्ति दावी गर्ने पार्टीको लागि यो शुभ लक्षण होईन् । वर्तमान सरकारको सवैभन्दा महत्वपूर्ण साझेदारी एमाओवादीले सरकारका महत्वपूर्ण मन्त्रालयहरु सम्हालेको छ । आफुले सम्हालेका मन्त्रालयका काम कारवाहीलाई अत्यन्त प्रभावकारी मात्र बनाउँने हो भने पनि सरकारको प्रभावकारिता त्यसवाटै देखिन्छ । त्यसमाथि सरकारमा साझेदारी दलहरु बसेर सरकारको अल्पकालीन र दीर्घकाली कार्यहरुको कार्यक्रम तयार गरी कार्यान्वयनतर्फ जाने हो भने सरकारको प्रभावकारीता तत्कालैवाट जनताले महसुस गर्न सक्छन् ।