१० फाल्गुन २०७२, सोमबार

वासिङटन, शान्तिसम्बन्धी सम्झौताका लागि उत्तर कोरियाले प्रस्तुत गरेको प्रस्ताव संयुक्त राज्य अमेरिकाले अस्वीकार गरेको जनाएको छ ।

अमेरिकी अधिकारीले आइतबार दिएको जानकारीअनुसार उत्तर कोरियाले शान्तिसम्बन्धमा गर्ने छलफलका लागि प्रस्ताव पठाएको थियो ।
सो प्रस्तावपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई यदी त्यस्तो छलफलमा सहभागी हुने हो भने त्यसअगावै उत्तरले निशस्त्रीकरणको पालना गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

तर सो प्रस्ताव नै उत्तर कोरियाले अस्वीकार गरेपछि अमेरिकाले पनि छलफलमा सहभागिता नजनाएको अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता जोन कर्बिले जानकारी दिनुभएको छ ।

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले उत्तर कोरियाको सो शान्तिवार्तासम्बन्धी प्रस्ताव अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्वीकार गरेको भन्ने समाचारको खण्डनस्वरुप उहाँले सो सूचनाको खुलासा गर्नुभएको हो ।

प्रवक्ता कर्बिले उत्तर कोरियाले सो प्रस्ताव यसै महिनाको सुरुमा गरेको आणविक परीक्षणको केही दिनमात्र अघि गरेको खुलासा गर्नुभयो ।

उत्तर कोरियाले सन् १९५३ देखि दुई देश उत्तर र दक्षिण कोरियाबीचको युद्धको अवस्थाको अन्त्यका लागि अमेरिकासँग वार्ता गर्ने प्रस्ताव गरेको जनाइएको थियो ।

उत्तर कोरियाले सन् २०१५ को सुरुमै अर्थात् जनवरी ६ मा रकेट परीक्षण गरेको थियो । सो परीक्षणअघि पनि उत्तर कोरियाले विभिन्न समयमा आणविक परीक्षण गरेको थियो ।

उत्तर कोरियाले सन् २००६, २००९ र सन् २०१३ मा सो परीक्षण गरेको हो । यी परीक्षणहरुपछि उत्तर कोरिया दक्षिणबाट मात्र नभई विश्व समुदायबाट नै एक्लिएको हो ।

प्रवक्ता कर्बिले भन्नुभयो– मलाई स्पष्टै थाहा भएको विषय यो हो कि शान्तिको प्रस्ताव गर्ने ती उत्तर कोरियाली नै हुन् र हामीले भने उनीहरुको यही अवस्थामा वार्ता गर्नु हुदैन भनेका थियौँ ।

उहाँको भनाई थियो– हामीले उनीहरुको सो प्रस्तावलाई होसियारी पूर्वक अध्ययन ग¥यौं र यस्तो शान्तिसम्बन्धी प्रस्तावको छलफलका लागि पहिलो शर्त भनेको उत्तर कोरियाको निशस्त्रीकरण नै हुनुपर्छ भन्यौँ ।

अमेरिकाले बिगत लामो समयदेखि नै निशस्त्रीकरणको लागि उत्तर कोरियासँग अडान राख्दै आएको र त्यो नहुदासम्म हामीले उसँग कुनैपनि खालका सन्धी वा सम्झौता नगर्ने भएकोले उनीहरु पनि अघि बढ्न नसकेको उहाँको भनाई थियो ।

यतिखेर भने विश्वका नेताहरु उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने तयारीमा रहेका छन् । उत्तर कोरियामाथि लगाइने यस्तो प्रतिबन्धका लागि संयुक्त राष्ट्रसंघ पनि सहमत भएको छ ।

उत्तरले केही महिनाअघि हाइड्रोजन बमका साथै गत महिनामात्र लामो दुरीको रकेट प्रक्षेपण गरेकोले पनि उसले राष्ट्रसंघीय शान्ति तथा मैत्री सन्धीको उल्लङ्घन गरेको भन्दै यसको विरोध गरेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV