
गौशाला, । महोत्तरी जिल्लाको बथनाहा गाविसका बासिन्दा जिल्ला सदरमुकाम आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
जिल्ला सदरमुकाम जलेश्वरबाट मात्र नौ किलोमिटरको दूरीमा रहे पनि सो गाविसबाट सोझै आफ्नै देशको भूमि प्रयोग गरेर जिल्ला सदरमुकाम आउने बाटोको अभावमा त्यस गाविसका हजारौँ बासिन्दा भारतीय बाटो प्रयोग गर्दै आएको स्थानीयवासी विकास दुबेले बताउनुभयो ।
बथनाहा गाविसअन्तर्गतका बथनाहा, मधवा, सकरीलगायतका हजारौँ बासिन्दा सदरमुकाम जलेश्वर आएर कुनै सरकारी कार्यालयसँग सम्बन्धित वा हाटबजारमा व्यक्तिगत कामकाजका लागि भारतको बाटो प्रयोग गर्नु परेको स्थानीयवासी खुश्बु झाको भनाइ छ ।
बथनाहावासीले मात्र नौ किलोमिटर टाढा रहेको आफ्नै जिल्लाको सदरमुकाम जलेश्वर आउनका लागि वर्षौंदेखि भारत विहार राज्यको सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिट्ठामोड तय गरेर मात्रै जलेश्वर आउनु परेको छ । यसमा उनीहरुले करिब १०० थप रुपैयाँ र दुई घन्टा थप समय खर्चिनु परेको स्थानीयवासी समिर रायले बताउनुभयो ।
जिल्ला सदरमुकाम जलेश्वरसँग बथनाहालाई जोडने नेपाली सडक वर्षौंदेखि निर्माण हुन नसकेको र भए पनि दुर्घटनायुक्त रहेकाले बथनाहावासीले नेपाली बाटो अपनाउनुको सट्टा भारतीय बाटो प्रयोग गर्नु भरपर्दो र सुरक्षित सम्झन्छन् । रासस