
मेलम्ची, सिन्धुपाल्चोक । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यलाई सरकारले सीपमूलक तालिम दिएर जीविकोपार्जनका लागि प्रोत्साहन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
स्थानीय शान्ति समिति सिन्धुपाल्चोकले आइतबार मेलम्चीमा आयोजना गरेको द्वन्द्वपीडितसँगको भेटघाट तथा अन्तरक्र्रियामा उनीहरुले सरकारले किस्ताबन्दीमा दिएको राहत रकम घर खर्चमै सकिएको बताए ।
द्वन्द्वपीडित सुनिता अधिकारीले सरकारले किस्ताबन्दीमा दिएको राहत रकम नुन तेल गर्दै सकिने हुँदा सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले दिने भनेको रु दश लाख राहतमा रु पाँच लाख लिइसकेको अब दिने बाँकी रकम एकमुष्ठ दिए जीविकोपार्जनका लागि केही सहज हुने र यसतर्फ सरकारको ध्यान जानुपर्र्ने उल्लेख गर्नु भयो ।
अर्का द्वन्द्वपीडित वीरबहादुर दनुवारले हिजोका दिनमा विपक्षीसँग कसरी भेट्ने, हिँड्ने होला जस्तो लागेको थियो तर आज हामी दुवै पक्षका पीडा एउटै रहेको देख्दा पीडाले पक्ष÷विपक्ष पनि नभन्ने रहेछ भन्ने आफुलाई महसुस भएको बताउनुभयो ।
शान्ति समितिले द्वन्द्व न्यूनीकरण गर्दै पीडितलाई एउटै मञ्चमा उभ्याएर पीडा साटासाटको अवसर दिएकाले पक्ष विपक्षबीचको द्वन्द्वलाई कम गर्न सहयोग गरेको उहाँको भनाइ थियो । उहाँले द्वन्द्वको पीडा मनमा रहँदारहँदै भूकम्पको पीडाले आफूहरु थप आहत दिएको र जीवनयापनका लागि ज्यादै कठिन भएको दुखेसो गर्नुभयो ।
सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले द्वन्द्वको त्यो अवस्थाबाट संविधानको निर्माणका साथसाथै मुलुक नयाँ युगमा प्रवेश गरेकाले सबै मिलेर देश निर्माणमा लाग्नुपर्ने बताउनुभयो । पीडाको कुनै रङ र आकार नहुने हुँदा पीडालाई शक्तिमा बदलेर नयाँ नेपाल निर्माणका लागि सबैले प्रयत्न गर्नुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा सिन्धुपाल्चोक क्षेत्र नं ३ का द्वन्द्वपीडितलाई सम्मानसमेत गरिएको थियो ।
सशस्त्र द्वन्द्वका क्रममा सिन्धुपाल्चोकबाट ३०१ जनाले ज्यान गुमाएका र २८ जना बेपत्ता भएका स्थानीय शान्ति समितिका संयोजक अमानसिंह तामाङले बताउनुभयो । रासस