
साओ पाउलो ( ब्राजिल ) । ब्राजिलको एक संघीय अदालतले प्रसिद्ध फुटबल खेलाडी नेमारको पाँच करोड डलर अर्थात् साढे पाँच अर्ब रुपियाँ बरारबरको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
स्पेनको वार्सिलोना फुटबल क्लबबाट व्यवसायीक फुटबल खेल्ने नेमारको जफत गरिएको सम्पत्तिमा एउटा जेट विमानका साथै सानो पानीजहाज लगायत विभिन्न सम्पत्ति भएको ब्राजिली अधिकारीहरुले जानकारी दिएका छन् । अल जजिरा टेलिभिजनका अनुसार अदालतले नेमारको अपीललाई गत महिना खारेज गरेपछि सरकारी अधिकारीहरुलाई उनको सम्पत्ति जफत गर्ने बाटो खुलेको हो ।
नेमार र उनको परिवारलाई झण्डै तीन करोड रुपियाँ बराबर कर ठगी गरेको आरोप लागेको थियो । त्यतिबेला उनी ब्राजिलको स्थानीय सान्तोस क्लबबाट फुटबल खेल्ने गर्दथे तर यी आरोपको नेमार परिवारले खण्डन गरेको थियो । दुई हप्ता अघि मात्र नेमार र उनका पितालाई स्पेनको म्याड्र्डि अदालतमा करीब तीन घण्टा सोधपुछ गरिएको थियो ।
२३ वर्षीय नेमारले बार्सिलोना क्लबबाट प्रति हप्ता डेढ लाख पाउण्ड अर्थात् झण्डै अढाई करोड रुपियाँ पारिश्रमिक वापत प्राप्त गर्दछन् । सन् २०१८ सम्म बार्सिलोनमा अनुवन्धित उनका सम्बन्धमा बार्सिलोनामा अनुवन्धित हुने क्रममा कर छलीको आरोप स्पेनमा पनि लगाइदै आइएको छ ।