९ फाल्गुन २०७२, आईतवार

यही फागुन २२ देखि चैत १३ सम्म धनगढीमा ट्वान्टी ट्वान्टी क्रिकेट लिग सञ्चालन हुने भएको छ । धनगढी क्रिकेट लिग (डिसिएल) भाग–३ लाई सगरमाथा सिमेन्टले मुख्य प्रयोजकका रुपमा साथ दिने भएको छ । आईतबार राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्य प्रयोजक सगरमाथा सिमेन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

५ टोलीबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा धनगढीकै पाँच जना व्यापारीले खेलाडी किनेर टोली बनाएका छन् ।  प्रतियोगितामा स्थानीय ठाउँको नाम झल्कने गरी पाँच टिम बनाइएको छ । प्रतियोगितामा सन्तोषी टोली, हसनपुर, चौराहा, अत्तरिया र क्याम्पस रोड गरी ५ टोलीबीच होम एण्ड अवे आधारमा प्रतियोगिता खेलाइनेछ ।

2020

२०–२० फम्र्याटमा लिगकम नकआउटको आधारमा हुने खेलको शीर्ष चार टोलीले प्लेअफ खेल्नेछ ।  प्रतियोगिताको लागि पहिलोपटक फ्रेन्चाइज, अक्सन र खेलाडीको मोलतोल गरिएको थियो । जसमा नेपाली यु–१९ का कप्तान राजु रिजाल सबैभन्दा बढी ४० हजारमा टिम सन्तोषीमा बिक्री भए । विनोद भण्डारी अत्तरिया तथा ललित सिंह भण्डारी क्याम्पसरोडको टिममा समान ३६ हजारमा बिक्री भएका थिए । यि पाँच टिमबाट राष्ट्रिय टिमका खेलाडीहरु तथा स्थानीय खेलाडीहरु पनि समावेश छन् । मेहवुव आलम, भुवन कार्की, योगेन्द्र कार्की, नरेश बुढाएर, सुनिल धमला, प्रेम तामाङ, दिपेन्द्रसिंह ऐरी र ललित बम लगायतका खेलाडीहरुले विभिन्न क्लबबाट प्रतियोगितामा खेल्नेछ ।

प्रतियोगिताको बिजेताले ३ लाख पुरस्कार पाउनेछ भने उपबिजेताले १ लाख ५० हजार पाउनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार र म्यान अफ द सिरिजले ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगितामा सगरमाथा सिमेन्टले १० लाख रुपैयाँ बराबरको मुख्य प्रायोजन गरेका छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको नाम सगरमाथा सिमेन्ट डीसीएल ३ रहने उल्लेख गरिएको छ । सगरमाथा सिमेन्टका निर्देशक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गर्दै धनगढी क्रिकेट लिगमा जोडिन पाउँदा आफुहरु निकै खुशी भएको बताए ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले डिसिएल–३ प्रतियोगिताले नेपाली क्रिकेटको विकासका लागि नौलो अभ्यास गरेकाले सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगिताका सबै खेलहरु धनगढी अञ्चल प्रहरीको टर्फ मैदानमा हुनेछ ।

 

 

 

LIVE TV