
काठमाडौँ, पर्साको वीरगन्जमा रहेको सामुदायिक रेडियो नारायणी एफएममा अज्ञात समूहले आक्रमण गरेको छ ।
मध्यराति १ बजे रेडियोमा पुगेको आपराधिक समूहले गरेको आक्रमणको घटनाप्रति सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आकोराबद्वारा आज जारी विज्ञप्तिमा आज बिहान १ बजेतिर रेडियोमा तोडफोड र आक्रमण गर्न गएको समूहले सुरक्षा गार्डलाई कुटपिट गरेको जनाइएको छ ।
वीरगञ्ज श्रीपुरस्थित एफएमको कार्यालयमा हतियारसहित आएका अज्ञात समूहले
कार्यालयको साँचो माग्दै ढोका तोडफोड गरेको थियो । आपराधिक समूहको प्रतिकारका क्रममा नारायणी एफएमका सुरक्षा गार्ड वृजमोहन यादव घाइते हुनुभएको छ । कार्यालयको साँचो नदिँदा सुरक्षा गार्डलाई कुटपीट गरेपछि उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको अकोराबले जनाएको छ ।
अकोराबले विज्ञप्तिमा स्वतन्त्ररूपमा सञ्चालनमा रहेको सामुदायिक रेडियोलाई लक्षित गरी भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भनेको छ ।
पत्रकार र स्वतन्त्र, निस्पक्ष रुपमा सञ्चालित रेडियोको सुरक्षालाई थप जटिल बनाउने यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न समूहको तत्काल पहिचान गरी कारबाही गर्न अकोराबले जोडदार माग गरेको छ । साथै पत्रकार र रेडियोमा हुने यस्ताखाले घटना रोकी प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग पनि गरिएको छ । रासस