९ फाल्गुन २०७२, आईतवार

धनुषा प्रहरीले व्यापारीसँग चन्दा असुली गर्ने कार्यमा संलग्न गिरोहका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका सैन्य कमाण्डर सहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरु कांग्रेस नेताको हत्यामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

123

जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका सैन्य कमाण्डर सिरहा राजपुर वडा नं.१ का अजय सिंह भन्ने रामरीझन यादव, पार्टीका कार्यकर्ता वेचन पासवान र जसलाल यादवलाई पक्राउ गरेको हो । सैन्य कमाण्डरलाई नेपाल भारत सीमावर्ती क्षेत्र खजुरीबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।

यादवका दुवै सहयोगीलाई उद्योगी व्यापारीबाट चन्दा असुल्दै गरेको अवस्थामा धनुषाको पोर्ताहाबाट पक्राउ गरेको छ । उनीहरुबाट नगद ५० हजार, दुई थान मोटरसाईकल र ४ थान मोबाईल बरामद गरेको उपरीक्षक जोशीले बताउनु भयो । उनीहरु माघ २२ गते भएको धनुषा नेपाली कांग्रेसका नेता राजेन्द्र प्रसाद यादवको हत्यामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजारमा नसिव राईन र कमला पुलमा राम सोगारथ महतोमाथि गोली प्रहार गरेको जनाईएको छ । उक्त घटनाको अनुसन्धानमा प्रहरीले प्रमोद कुमार पूर्वे, शुभनारायण यादव, जोगेन्द्र महतो र नागे साह सहित ४ जनालाई यस अघि नै पक्राउ गरिसकेको छ ।

 

 

LIVE TV