काठमाडौँ,यस पटकको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई नेपाली जनताले निकै नजिकवाटै निगरानी गरे । पाँच महिना लामो भारतीय नाकाबन्दीमा पनि राष्ट्रियताको सन्दर्भमा नेपालीले सरकारलाई पूर्ण समर्थन गरे । त्यसकारणले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तीव्र जनदवावमा पनि थियो । भलै ओलीले राष्ट्रघाती कुनै सम्झौता नगरेपनि भित्री आश्वासन केही दिएकी भन्ने चर्चा नभएको पनि होईन् । तर पनि ओलीले नेपालका चासोहरुलाई यसपटक खुलेरै राखेको भने सत्य हो भन्न सकिन्छ ।
हुन त प्रधानमन्त्री ओलीको भारत भ्रमणताका भारत सरकारसंग भएको सात बुँदे सम्झौता कुनै नयाँ कुरा होईनन् । पहिले नै सम्झौता भएका कुराहरुलाई पुनः उल्लेखित गरी कार्यान्वयनतर्फ तदारुकता दिन पुनः दुवै सरकार सहमत भएको स्थिति हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति र विकास भारतको चाहना मात्र भनेनन् नेपालको जलस्रोत, जटिवुटी लगायतवाट दुवै मुलुक लाभान्वित हुने पुनः दोहो¥याए । पहिले जस्तो यसपटक मोदीको भाषणलाई नेपालीले सहजै सम्मति जनाउन सकेका छैनन् । झुठको निम्तो खाई पत्याउनु भने जस्तो भारतवाट कार्यान्वयनतर्फ तदारुकता नदेखिदासम्म निश्चितरुपमा विश्वास गर्ने आधार भने छैन् ।
भारत भ्रमणताका नेपालका प्रधानमन्त्री ओलीले वाह्रय देखिने र बुझिने सन्दर्भमा परिपक्वता प्रदर्शन गरेको आम जनताले महसुस गरेका छन् । आफ्नो भ्रमण दुई मुलुकबीच रहेको तीत्ततापूर्ण सम्वन्ध हटाई नयाँ सम्वन्ध विस्तार गर्न केन्द्रित हुने बताएका ओलीले त्यस्तो प्रयास गरेको पनि देखियो । तर पनि भ्रमणवाटै सवै तुष मेटियो भन्ने भनाई भने अझै छिटो भएको विश्लेषण गरिएको छ । भ्रमणले भारतसंग नेपालका चासोहरु प्रष्ट राख्न सहयोग पु¥याएको भने निश्चित हो ।
भारतले जतिसुकै चिल्ला कुरा गरेपनि नेपालमा उसको विश्वसनियता निकै कम भएको छ । वाहिर प्रतिवद्यता धेरै गर्ने तर व्यवाहारमा नेपाललाई अस्थिर र संकट अवस्थामा धकेल्ने भारतीय स्वार्थवाट नेपाली आजित छन् । भारतीय नाकाबन्दीले नेपालीमा भारतलाई स्पष्टसंग बुझ्ने र उसका नेपाली एजेन्टहरुलाई खुलारुपमा पहिचान गर्न मद्यत गरेको निश्चित नै हो ।
ओली र मोदीबीचको भेटमा हिन्दु राष्ट्रवारे पनि कुरा उठेको बताईन्छ । त्यसलाई ओलीले नेपालीको चाहना अनुसार सम्वोधन हुने भनेर कूटनीतिक जवाफ दिएको बताईएको छ ।
नेपालका सरकारहरुले भारतसंग खुलेरै कुरा राख्न नसकेको आलोचना भईरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यसपटक नेपालको चासोलाई स्पष्टसंग प्रस्तुत गरेका छन् । साथसाथै भारतीय चासोलाई पनि सक्दो सम्वोधन गर्ने आश्वासन दिएका छन् ।
निश्चितरुपमै विश्वकै उदाउँदो महाशक्ती भारतका पनि सुरक्षा देखि लिएर अन्य विभिन्न विषयमा नेपालमा चासो र स्वार्थ छन् । त्यसलाई नेपालले एक जिम्मेवार छिमेकीको हैसियतले सक्दो सम्वोधन गर्नु पर्दछ आफ्नो राष्ट्रिय स्वार्थको सीमाभित्र रहेर । नेपालको विकासको वाधक भारत भन्ने जुन आम बुझाई छ त्यसलाई व्यावहारिकरुपमा परिवर्तन गर्न भारतले नेपाल नीतिमा व्यापक बदलाव गर्न जरुरी छ । ओलीको भ्रमणले तीक्त सम्वन्धलाई केही कम गर्न सफल भएपनि तत्कालै सम्वन्धमा पूर्ण सुधार आउँछ भनेर सोच्नु गलत हुनेछ् । भारतीय हेपाहा प्रवृति, दभ्भ र बक्रदृष्टिलाई नेपालीले सजिलै माफी दिने छैनन् । त्यसको लागि भारतले नै सकारात्मक एवं व्यवहारिक कदम चाल्नु जरुरी छ ।