९ फाल्गुन २०७२, आईतवार

 

जल्बिन्दु यस्तो बिमारी हो जसमा आँखाको ओप्टिक नर्व क्षतिग्रस्त हुन्छ । सामान्यतया आँखाको अगाडीको भागमा अकुएस ह्युमोर नामको पानि संचारित हुन्छ । अकुएस ह्युमोर ज्यादा बन्नु वा कम निकास हुनुको कारण आँखाको प्रेसर बढ्छ र विस्तारै ओप्टिक नर्वमा क्षति पुर्याउदछ ।

jalbindu

जलबिन्दुको खतरा कसलाई रहन्छ ?

जलबिन्दुको खतरा निम्न मानिसहरुमा बेसी हुन्छन् ।
१) ४० भन्दा बेसी उमेर
२) जलबिन्दुको पारिवारिक इतिहास भएमा
३) परको वा नजिकको दृष्टि कम हुने हरुमा
४) आँखाको प्रेसर बेसी भएमा
५) आँखामा पुरानो चोट लागेको इतिहास भएमा
६) धेरै पातलो कोर्निया हुने हरुमा
७) रक्त–प्रवाह सम्बन्धित शारिरिक बिमारी जस्तै मधुमेह, माइग्रेन, कम ब्लड–प्रेसर आदि ।
जलबिन्दुको संकेत वा लक्षण के के हुन् ?
जलबिन्दुका संकेत यिनका प्रकार र स्टेजमा भर पर्छन्। सामान्यतय प्रारम्भिक स्टेजमा एसको कुनै स्पस्ट संकेत हुँदैनन् । विरामी बढ्दै जाँदा बिस्तारै दृष्टिमा कमि हुँदै जान्छन् र अन्तिम स्टेजमा खाली बीच भाग मात्र देखिने ( टनेल भिसन ) हुन सक्छ । यसरी जलबिन्दुले बिस्तारै स्थायी रुपमा अन्धोपन गराउने कारण यसलाई  “दृष्टिको चोर” पनि भनिन्छ । आँखाको प्रेसर बढेको बेलामा आँखा दुख्ने, प्रकाशको वरपर इन्द्र–धनुष जस्तो रंगहरु देखिने, आँखा रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।

जलबिन्दुका प्रकार
सामान्यतया जलबिन्दु निम्न प्रकारका हुन्छन् ।

१) ओपन–एंगल जलबिन्दु – यो सबै भन्दा सामान्य प्रकारको जलविन्दु हो । आँखामा पानी निकास गर्ने एंगलमा हुने ट्राबेकुलर मेस्वोर्कको असक्षमताले गर्दा यो प्रकारको जलबिन्दु हुन्छ । यसमा बिस्तारै आँखाको दृष्टि कम हुँदै जान्छन । थाहा नै नपाई आँखाको ओप्टिक नर्वमा क्षति पुगिरहेको हुन्छ ।

२) क्लोस–एंगल जलबिन्दु– यसप्रकार को जलबिन्दु एंगलमा आइरिसको अबरोधले गर्दा हुने गर्दछ । यसप्रकार आँखामा अचानक प्रेसर बढ्ने, आँखा दुख्ने, रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् ।

३) कोल्जेनिटल जलबिन्दु – यो एक दुलर्भ प्रकारको जलबिन्दु हो जुन सानो नबजात बच्चामा हुने गर्दछ । यो प्राय बंसानुगत कारणले हुन्छन् । आँखा सामान्य भन्दा ठुलो देखिने, पानी आउने, प्रकाशमा आँखा खोल्न नसक्ने जस्ता लक्ष्णहरु यसमा देखिन्छन् ।

४) सेकेन्डरी जलबिन्दु– अरु कारणहरुको परिणामले गर्दा हुने जलबिन्दु । जस्तै – पुरानो चोट, लामो समय सम्म स्टेरोइड दवाइको प्रयोग, अरु ट्युमर आदि ।
सबै जलबिन्दुका बिरामीमा आँखाको प्रेसर बढी नै हुन्छ भन्ने छैन । आँखाको नर्मल प्रेसर २१ मर्करी भन्दा कम हुन्छ । आँखाको प्रेसर लगातार २१ मर्करी भन्दा कम भए तापनि ओप्टिक नर्व क्ष्यतिग्रस्त हुन सक्छ । यसलाई नोर्मल टेन्सन जलबिन्दु भनिन्छ ।

कुनै–कुनै व्यक्तिमा आँखाको प्रेसर लगातार २१ मर्करी भन्दा बढी रहेतापनि ओप्टिक नर्व क्ष्यतिग्रस्त नभएको हुन सक्छ जसलाई ओकुलर हाइपरटेन्सन भनिन्छ । तर, यस प्रकारमा ओप्टिक नर्व क्षतिग्रस्त हुने÷ जलबिन्दु हुने सम्भावना धेरै हुन्छ त्येसैले समयमै उपयुक्त उपचार गर्न जरुरी हुन्छ ।

जलबिन्दुका उपचार पद्धतिहरु

 

जलबिन्दुले गर्दा क्ष्यति भइसकेको दृष्टि फर्काउन सकिँदैन तर नियमित उपचारले जलबिन्दुबाट हुन सम्ने अरु नोक्सानबाट बचाउन सकिन्छ । आँखाको प्रेसर कम राख्ने र ओप्टिकल नर्वलाई अरु क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो ।
१) मेडिकल ड्रोप्सबाट उपचार – मेडिकल ड्रोप्स  सबभन्दा सामान्य उपचार हो । आँखाको अकुएस ह्युमोर बन्न कम गराउने वा यसको निकास बढाउने तरिकाबाट यी दवाइले गर्छन् । यी ड्रोप्सहरु नियमित रुपले डाक्टरको सल्लाह अनुसार प्रतिदिन प्रयोग गर्नु जरुरी छ । डाक्टरको सल्लाह नलिई यी ड्रोप्स बदल्नु या बन्द गर्नु हुन्न ।
२) शल्यक्रिया तथा लेजर उपचार–केही रोगीहरुमा शल्यिक्रिया (ट्राबेकुलेक्टोमी÷ ड्रेनेज डिवाइस) कोे जरुरी हुन सक्छन । क्लोज–एंगल जलबिन्दुमा लेजरबाट आँखाको खैरो भाग (आइरिस) मा सानो दुलो बनाइन्छ (लेजर इरिदोटोमी)  । अन्तिम स्टेजमा, दृष्टिको सम्भावना नभएको अनि धेरै दुखेको आँखामा दुखेको कम गर्न दाइवोद लेजर फोटो–कोएगुलेसन गरिन्छ ।

 

संक्षेपमा , जलबिन्दुले गर्दा हुने अन्धोपनको प्रकोप बढ्दो छ । जलबिन्दु भएर क्षति सकेपछि दृष्टि फर्काउन सकिन्न तर समयमै रोगको पहिचार गरी उपचार सुरु गर्न सकियो भने थप नोक्सान हुनबाट बचाउन सकिन्छ । जलबिन्दुको पारिवारिक इतिहास भएमा जलबिन्दु हुनसक्ने १० गाुणा बेसी खतरा हुन्छ, त्यसैले परिवारका अरु सदस्यहरुले पनि आँखा–जांच गराउनु उपयुक्त हुन्छ । जलबिन्दुको बारेमा सचेत रहौंर यसबारे जानकारी सबैलाई दिउँ  ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV